News

May 31, 2012

सर्वोच्चका न्यायाधीश बमको गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ १८ - अपरिचित समूहको गोली प्रहारबाट बिहीबार राजधानीमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएको छ । गोली प्रहारबाट घाइते अंगरक्षक महेश गिरीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बंगलामुखी मन्दिर दर्शन गरेर फर्केका बम र उनका अंगरक्षकमाथि शंखमुलस्थित युनएन पार्कको घाट छेउमा बिहान ११ बजेर ५ मिनेटमा गोली प्रहार भएको हो । रातो पल्सर मोटरसाइकलमा रहेका दुई जनाले न्यायाधीश बमको बा.८.च ९८५३ नम्बरको सेतो कार रोकेर गोली हानेको लगत्तै घटनास्थल पुगेका प्रहरी महानिरीक्षक रविन्द्रप्रताव शाहले जानकारी दिए । गोली प्रहारबाट घाइते न्यायाधीश बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो । घटनाबारे जानकारी लिन पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले बमको निधन भएको औपचारिक जानकारी दिएका थिए । बमलाई च्यापु, घाँटी, हात र छातिमा गरी चार वटा लागेको थियो भने अंगरक्षक गिरीको घाँटीमा गोली लागेको छ । बमको महाराजगञ्जस्ति शिक्षण अस्पतालमा बिहीबार नै पोस्टमार्टम गरिएको छ । न्यायाधीश बममाथि गोली प्रहार भएको घटनालगत्तै प्रधानन्यायाधीश खिलराज रेग्मी नर्भिक अस्पताल पुगेका थिए । प्रहरी महानिरीक्षक शाह भने अस्पताल पुगेलगत्तै घटनास्थलको निरीक्षणमा पुगे । प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार नर्भिक अस्पतालमै पुगे । प्रधानमन्त्री र गृहमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषिलाई उम्कन नदिने प्रतिबद्धता जनाए । उनीहरुले न्यायकर्मीको सुरक्षामा सरकार गम्भीर रहने बताए । घटनास्थलमा नेपालवाद पार्टीको पर्चा भेटिएको छ । पहिलो चोटी यो पार्टीको नाम सुनिएको छ । घटनापछि प्रहरीले राजधानीको सुरक्षा कडा बनायो । पल्सर मोटरसाइकलमा चढेकालाई सोधपुछ गरेको थियो भने केहीलाई नियन्त्रणमा लियो ।

छानबिन समिति गठन 
 यसैबीच प्रहरी प्रधान कार्यालयले एआईजी कुवेरसिंह रानाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

No comments: