News

May 28, 2012

एमालेद्वारा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ १५,नेकपा एमालेले प्रधान मन्त्री बाबुराम भट्टराईले चुनाव गराउनका लागि गरेको सिफारिस अवैधानिक भएको ठहर गरेको छ। उसले यस्तो अवैधानिक कदम चाल्ने प्रधान मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग पनि गरेको छ। आज बसेको एमाले स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। उसले प्रधान मन्त्रीको कदम असंवैधानिकसमेत रहेको ठहर गरेको छ। 
 प्रेस विज्ञप्तिको पूर्ण पाठ- 
आज मिति ०६९ जेठ १५ गते नेकपा(एमाले) स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा बस्यो। बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गम्भीर छलफल भयो। बैठकपूर्व पार्टी नेताहरुको उपस्थितिमा कानून व्यवसायीहरुसँग सामूहिक छलफल र परामर्शसमेत गरिएको थियो। बैठकले निम्नअनुसार निर्णय गरेको छ : संविधानका विवादित विषयमा सहमति कायम गरी संविधान जारी गर्ने हाम्रो पहलअनुरुप नै जेठ २ गतेका दिन प्रमुख पार्टीहरुको बीचमा सहमति गरिएको थियो। उक्त सहमतिपछि हामी पाँचबुदे सहमतिका आधारमा एमाओवादीले नेतृत्व गरेको सरकारमा सहभागी भएका थियौ। तर सरकारको नेतृत्व गरिरहेको र संविधानसभाको सबैभन्दा ठूलो दलका रुपमा रहेको एमाओवादी उक्त सहमतिवाट पछि हट्नाले संविधान निर्माणको प्रयास अवरुद्ध बन्न पुग्यो। त्यसपछि पनि हामीले संविधानसभावाट सहमति भइसकेका विषयहरुलाई लिपिबद्ध गरी संविधान निर्माण गर्ने र विवादित बाँकी विषयहरुलाई नयाँ संविधानअन्तर्गत कायम रहने व्यवस्थापिका–संसदबाट टुंगो लगाउने प्रयाश गर्‍यौं। त्यस प्रयासमा पनि एमाओवादी तयार नभएपछि संविधान सभालाई व्यवस्थापिका–संसदका रुपमा कायम राखी मुलुकलाई संवैधानिक संकटबाट जोगाउने सन्दर्भमा समेत भगिरथ कोशिस ग–यौं। तर एमाओवादी नेतृत्वको वर्तमान सरकारले राजनीतिक दलहरुको उक्त प्रयासलाई पूर्णतः उपेक्षा गरी एकलौटीढंगले संविधानसभा र व्यवस्थापिका–संसद भंग गर्ने र निर्वाचनको मिति तोक्ने काम गरेको छ। ऐतिहासिक जनआन्दोलनको भावना, बिस्तृत शान्ति संझौता र अन्तरिम संविधान–२०६३ को व्यवस्थाविपरित चालिएको प्रधानमन्त्रीको यस स्वेच्छाचारी र असंवैधानिक कदमको हाम्रो पार्टी तीब्र विरोध र भ्रर्त्सना गर्दछ। जनप्रतिनिधि निकायलाई कायम राखी संवैधानिक बाटोबाटै नयाँ जनादेशमा जाने उपयुक्त बाटो रहँदारहँदै पनि मुलुकलाई संकटतर्फ अघि बढाउने माओवादी नेतृत्वको सरकारले संवैधानिक र राजनीतिकरुपमा आफ्नो औचित्य गुमाइसकेको छ। त्यसैले अब राजनीतिक दलहरुको सहमतिका आधारमा जनआन्दोलनको मर्म र भावनाअनुरुप तथा अन्तरिम संविधानको व्यवस्थाबमोजिम राष्ट्रिय सहमतिको सरकार गठनका लागि अविलम्ब प्रक्रिया अघि बढाउन हामी जोडदार माग गर्दछौ। संविधानसभा भंग भइसकेको स्थितिमा नेकपा(एमाले) जनताको सार्वभौमसत्ताको रक्षाका साथै संविधानसभाबाट नयाँ संविधान निर्माणको कामलाई पूर्णता दिन राजनीतिक दलहरुको सहमतिका आधारमा ताजा जनादेशमा जान तत्पर रहेको कुरा स्पष्ट गर्न चाहन्छौ। वर्तमान सरकार र एमाओवादीका कारणले संविधानसभासँगै व्यवस्थापिका–संसदसमेत भंग भएको स्थितिमा राष्ट्रिय एकता, साम्प्रदायिक सद्भाव कायम गर्न तथा राष्ट्रलाई लोकतन्त्र, संविधानवाद र अग्रगमनको बाटोमा अघि बढाउनका लागि एकताबद्ध भएर अघि बढ्न नेकपा(एमाले)) सम्पूर्ण राजनीतिक दलहरुलाई हार्दिक आह्वान गर्दछ। साथै, यस गंभीर स्थितिमा राष्ट्र, जनता र पार्टीमाथि आइपर्ने जस्तासुकै अप्ठेरा गतिविधिप्रति सजग रहन तथा सबैखाले अतिवादहरुको डटेर सामना गर्दै शान्तिपूर्ण जनक्रान्तिका ऐतिहासिक उपलब्धिहरुलाई संस्थागत गरी मुलुकलाई स्थिरता, अग्रगति र समृद्धिको बाटोमा दृढतापूर्वक उन्मुख गराउनसमेत सिंगो पार्टीपङ्क्तिलाई एकताबद्ध भएर दृढतापूर्वक अघि बढ्न निर्देशित गर्दछौं। १५ जेठ २०६९ 
 झलनाथ खनाल 
अध्यक्ष

No comments: