News

May 16, 2012

धनगढीमा अखण्ड सुदूरपश्चिमवाला र थरुहटवालाबीच भिडन्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
धनगढी, जेठ ३- धनगढीमा केहीबेरअघिमात्र अखण्ड सुदूरपश्चिमवाला र थरुहटवालाबीच भिडन्त सुरु भएको छ। अहिले पनि दुवै पक्षबीच ढुङ्गा प्रहार भइरहेको छ भने प्रहरीले दुवैलाई हटाएर झडप रोक्ने प्रयास गरिरहेको छ। थरुहट कार्यकर्ताले निकालेको मसाल जुलुसलाई प्रहरीले पार्कमोडबाट अघि बढ्न नदिएपछि उनीहरु उत्तेजित भएका थिए। यो जुलुस अघि बढ्न दिएको भए एलएन चोकमा भेला भएका अखण्डवालासँग भिडन्त हुने भएकाले प्रहरीले त्यहीँबाट उनीहरुलाई रोकेको थियो। यो झोकमा थरुहट कार्यकर्ताले बजारकै एक अखण्डवालाको घरमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले लाठिचार्ज गरेको थियो। यो घटनापछि एलएन चोकमा भेला भएका अखण्डवाला पार्कमोडमा आइ थरुहटवालामाथि ढुङ्गा प्रहार गरेका थिए। लगातार दुवै पक्षबाट ढुङ्गा प्रहार भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले थरुहटवालालाई क्याम्पस रोडतर्फ धपाइरहेको छ। तर पनि दुवै पक्षबीच हानाहान जारी छ। प्रहरीले पनि हट्न नमान्नेलाई लाठी प्रहार गर्ने काम जारी राखेको छ। यस क्षेत्रमा १९ दिनदेखि अखण्ड सुदूरपश्चिमको माग राखेर आन्दोलन भइरहे पनि ३ दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले यस्ताका विरुद्ध प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरेपछि झडपको स्थिति उब्जेको हो।

No comments: