News

May 17, 2012

जिम्मेवारी नपाएको भन्दै मन्त्रीहरुद्वारा असन्तुष्टि व्यक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ ४,मन्त्री पदको शपथ लिएर पनि जिम्मेवारी नपाएका नवनियुक्त मन्त्रीहरुले जिम्मेवारी नतोकिएकामा असन्तुष्टि व्यक्त गरेका छन्। एमालेका तर्फबाट मन्त्री बनेकी राधा ज्ञवालीले पार्टीले शिक्षा मन्त्रीको जिम्मेवारी तोकेर सरकारमा पठाए पनि आफूले जिम्मेवारी नपाएको भन्दै गुनासो गरिन्। उनले मुलुकको यो जटिल अवस्थामा एक मिनेट पनि जिम्मेवारीविहीन रुपमा मन्त्रीहरु बस्न नहुन भन्दै जिम्मेवारीको आवश्यकतामा जोड दिइन्। उनले पार्टीको वेबसाइडमा शिक्षा मन्त्री भनेर लेखेका कारण पनि आफूलाई अप्ठ्यारो परेको बताइन्। उनले भनिन्– बधाईको ओइरो लागेको छ, सबै कुन मन्त्रालय भन्छन्, के भन्ने लाजमर्दो हुन्छ। यसैगरी कङ्ग्रेसका तर्फबाट मन्त्री बनेका सूर्यमान गुरुङले पनि मन्त्री भएपछि बधाईसँगै कुन मन्त्रालय भनेर शुभचिन्तकहरुले सोध्दा आफू अप्ठ्यारोमा परेको गुनासो गरे। उनले मन्त्रालय नपाए पनि आफू शान्ति र संविधान निर्माणकै काममा लागेको भन्दै भोलि कुन बेला फर्कनुपर्ने हो भन्ने निश्चित नभएकाले मन्त्री क्वार्टरमा समेत नबसेको बताए। उनले भने– भोलि फर्किहाल्नुपर्छ किन मन्त्री क्वार्टर जाने ? बरु मेरै झुपडी सहज छ। यसरी नै माओवादीका तर्फबाट मन्त्री बनेका टोपबहादुर रायमाझीले भने शान्ति र संविधान निर्माणको काम भएकाले एउटा मन्त्रालयमा सीमित हुन नपरेकोमा खुसी व्यक्त गर्दै भने– म पूर्णरुपमा देशका लागि लागिपरेको छु। मन्त्रालय पाएको भए मन्त्रालयको काममै सीमित हुन्थें। उनीहरुले रिपोर्टर्स क्लबमा यस्तो बताएका हुन।

No comments: