News

May 27, 2012

दलहरुबीच कुरा नमिल्दा संविधानसभा सङ्कटमा, आज अन्तिम दिन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१४ जेठ,आज जेठ १४ गते अर्थात संविधानसभाबाट संविधान जारी गर्नुपर्ने अन्तिम दिन । वि सं २०६८ मंसिर १४ मा चौथो पटक ६ महिनाको लागि थपिएको संविधानसभाको म्याद आज सकिदै छ । आज मध्य रातिसम्म पनि संविधान जारी हुन नसकेको अवस्थामा संविधानसभा र संसद स्वत विघटन हुनेछन् । संविधानसभाको म्याद सकिन करिब १५ घण्टामा मात्र बाँकी रहँदा पनि प्रमुख तीन दल र मधेसी मोर्चाबीच कुनै ठोस सहमति हुन सकेको छैन । सबैभन्दा विवादित बुँदा राज्यपुनर्संरचनाको बारेमा सहमति खोज्न गएराति अवेरसम्म दलहरुले गरेको औपचारिक तथा अनौपचारिक, आन्तरिक एवम् बहुपक्षीय वार्ताहरु पनि निष्कर्षमा नपुगी सकिएपछि दलहरुबीच सहमतिको सम्भावना कम हुँदै गएको छ । यद्यपी वार्तामा सहभागी नेताहरुले भने आजको मध्यरातसम्ममा कुनै सहमति हुने र अहिलेसम्मका उपलब्धीहरु संस्थागत गर्न सजिलो हुने बताउँदै आएका छन् । एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संघीय राज्य, ती राज्यहरुको नामाङ्कन तथा सीमाङ्कनको बारेमा मुख्य विवाद छ । काङ्ग्रेस र एमालेले संघीय राज्यको नाम र सीमा पछि तोक्नेगरी सहमति भएका बुँदालाई समाबेश गरेर संविधान जारी गर्नुपर्ने बताउँदै आएका छन् भने माओवादी र मोर्चाले नाम र सीमाको विवाद र संघीय राज्यको संख्यामा ठोस सहमति गरेर संविधान जारी गर्नुपर्नेमा अडान लिदै आएका छन् । माओवादी र मोर्चाले एकल जातिय राज्यमा अडान नछोडेका कारण कुरा मिल्न नसकेको आरोप काङ्ग्रेस र एमालेले लगाएका छन् भने माओवादी र मोर्चाले संविधानसभा विघटनको षड्यन्त्रमा नेपाली काङ्ग्रेस र एमाले लागेको बताउँदै आएका छन् ।

No comments: