News

May 29, 2012

बृहत मधेसी मोर्चामा फुट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ १६ संघीयता र मधेसका लागि आन्दोलन गर्ने भन्दै गठन भएको बृहत मधेसी मोर्चामा फुट आएको छ । मोर्चाका संयोजक उपेन्द्र यादव र सदस्य शरदसिंह भण्डारी काँग्रेस, एमालेलगायतसंग मिलेको भन्दै अरुले बिरोध गरेका हुन् । यादव र भण्डारी जेठ १४ गते राति काँग्रेस, एमालेलगायतसंग मिलेर प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको संविधानसभाको चुनाव घोषणाको विरोध राष्ट्रपति कहाँ पुगेका थिए । मोर्चामा आबद्ध माओवादीलगायतका छ सदस्यले मंगलबार बिज्ञप्ति प्रकाशित गरी उक्त कार्यले यादव र भण्डारीको द्वैध चरित्र देखिएको तथा काँग्रेस, एमाले र राजपालगायतका पार्टी संघीयता र मधेसको विरोधी रहेकाले सहकार्य हुन नसक्ने उल्लेख गरेका छन् । 
 प्रेस विज्ञप्ति 
 पत्रकार बन्धुहरु, 
 जेठ १४ पछि मुलुकको बदलिदो परिस्थितिबारे मोर्चाको पूर्ण बैठक बस्नका लागि मोर्चाका जिम्मेवार सदस्यहरुलाई बारम्बार अनुरोध गर्दा पनि बस्न नमानेकोले हामी गम्भीर भएका छौं । मोर्चाको स्थापित मूल्य र मान्यता विपरीत संघीयता र मधेशविरोधी तत्वहरुसँग साँठगाँठ गरी मधेश र मधेशीको नाममा व्यापार गर्नेहरुसँग सजग रहन यो पत्रकार सम्मेलन गराइएको हो । अस्ति १४ गते मध्यराति सम्मानीय राष्ट्रपतिलाई नेपाली कांग्रेस, एमाले र राजपालगायत अन्य दलहरुसँग मिलेर बृहत् मधेशी मोर्चाको नाममा संयुक्त वक्तव्य बुझाएको सम्बन्धमा विभिन्न राष्ट्रिय समाचार माध्यमहरुद्वारा प्रकाशित/प्रसारित समाचारले हामीलाई झन् गम्भीर बनाएको छ । नेपाली कांग्रेस, एमाले र राजपालगायत अन्य संघीयता र मधेशविरोधी दलहरुसँगको सहकार्य मोर्चाको स्थापित विचार र सिद्धान्त विपरीत हो भन्ने हाम्रो ठहर छ । यी कुराहरु बुझ्दा बुझ्दै मोर्चाका सदस्यको रुपमा रहेका मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा मजफो लोकतान्त्रिकका वरिष्ठ नेता शरत्सिंह भण्डारीले बृहत् मधेशी मोर्चाको सहमति बिनाजसरी र जुन रुपमा अस्ति १४ गते राति सम्माननीय राष्ट्रपति कहाँ पुग्नु भयो त्यसले तिनीहरुको द्वैध चरित्रलार्ई उजागर गरेको छ । तसर्थ यसप्रकारका भ्रमबाट सतर्क रहन आम जनसमुदायलाई आह्वान गर्दछौं । साथै मधेशी, जनजाति, मुस्लिम, दलित लगायत उत्पीडित जातजाति, वर्ग, क्षेत्र, लिङ्ग तथा समुदायको हितमा संघीयता एवम् पहिचानसहितको संविधान बनाउनका लागि आगामी मंसिर ७ गते हुने संविधानसभा चुनावमा सच्चा संघीयता पक्षधर शक्तिहरुलाई एकजुट हुन समेत अपील गर्दछौं । 
 १. प्रभु साह – एनेकपा (माओवादी) 
 २. रामरिझन यादव – एनेकपा (माओवादी) 
 ३. रामकुमार शर्मा – एनेकपा (माओवादी) 
 ४. भरत साह – एनेकपा (माओवादी) 
 ५. राम अशिस गुप्ता, केन्द्रीय प्रवक्ता — तमलोपा (नेपाल) 
 ६ आत्मा राम प्रसाद साह— मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

No comments: