News

May 16, 2012

संघीय लिम्बुवान राज्य परिषदको प्रेस विज्ञप्ति

मिति २०६९।०२।०३ 
प्रेस-विज्ञप्ति 
१. नेपाली जनताको मतले निर्वाचित भई गठन भएको संविधान सभाको राज्य पुनःसंरचना समितिले १४ र अन्तरिम संविधान अनुसार गठन भएको राज्य पुनः संरचना आयोगले ११ राज्यको प्रस्ताव गरेको छ । यी दुबै प्रस्तावहरूको एक नम्बरमा 'लिम्बुवान स्वायत्त राज्य' भनी प्रष्ट नामकरण गरिएको छ यद्यपि यी प्रस्तावहरूले गरेको लिम्बुवान राज्यको सिमाङ्कनप्रति यस परिषदको असहमति छ । राज्य पुनर्संरचना सम्बद्ध अबको सबै बहशहरू वैधानिक रुपमा आएका यी १४ र ११ राज्यको जगमा टेकेर मात्र अघि बढ्नुपर्दछ । जनताद्वारा निर्वाचित संविधानसभाले अघि सारेको वैधानिक प्रस्तावहरूलाई गलहत्याएर, ऐतिहासिक पहिचानलाई अस्वीकार गर्दै एमाले, कांग्रेस र एमाओवादीका शीर्ष नेताहरू कुनै होटलको कोठामा बसी नामाङ्कन पछि गर्ने भनी ९ जिल्ला लिम्बुवान टुक्रिने गरी प्रस्ताव गरेको ११ राज्यको प्रस्तावप्रति मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद घोर आपत्ति र विरोध गर्दछ । यी नेताहरूको यो कार्यले नेपाली जनताहरूको सर्वोच्च संस्था संविधान सभाको बर्खिलाप गर्दद्ध र देशमा गृहयुद्धको बीउ र्छदछ किनकि प्रक्रिया र नियमभन्दा बाहिर गएर कार्य गर्ने बित्तिकै त्यो अतार्किक हुन्छ । त्यसैले यी तीन दलका नेताहरूले कथित् ११ राज्यको प्रस्तावलाई तुरुन्तै सच्याउने र संविधानसभाभित्रैबाट आएको १४ र ११ राज्यको प्रस्तावको जगमा टेकेर अरुण-सप्तकोशीपूर्व ९ जिल्लाहरूलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न यस परिषद् जोडदार माग गर्दछ । 
 २. नौ जिल्ला लिम्बुवानको अस्तित्व नामेट पार्न भइरहेका सबैखाले षडयन्त्रहरूलाई परास्त गर्दै जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न, अरुण-सप्तकोशीपूर्वका ९ जिल्लाहरूलाई टुक्राउन नदिन यस परिषदले यही जेष्ठ ६ गते बेलुकी ९ जिल्लाका सयौं ठाउँमा राँके जुलुश प्रदर्शन गर्ने र जेष्ठ ७, ८ र ९ गते अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवानमा आमहड्तालको घोषणा गरिएको छ । आमहड्ताल अवधिभर राँकेजुलुश, विरोध कोणसभा, एकात्मकवादीहरूको पुत्ला दहन, षडयन्त्रको विरुद्धमा कालो झण्डा प्रदर्शन, लिम्बुवानको प्रस्तावित संविधानको बहश-छलफल, लिम्बुवान प्रतिरक्षाबारे प्रशिक्षण र कमाण्डरहरू गठन, निर्णायक लिम्बुवान आन्दोलनको लागि प्रत्येक लिम्बुवानी जनताहरूबाट एक रुपैयाँ र एकमुठी अन्न सङ्कलन गर्ने, सम्भावित घाइतेहरूको लागि रक्तदान कार्यक्रम, लिम्बुवानको प्रत्येक गाउँ र चोकमा लिम्बुवानी झण्डाहरू गाड्ने अभियानहरू अघि बढाइनेछ । अन्तमा, यही प्रेस-विज्ञप्तिलाई आधार मानी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सबै तहका समितिहरू घोषित आन्दोलनमा सक्रिय हुनु होला र समविचारका सङ्गठनहरूसँग सहकार्य गरी जातीय सह-अस्तित्व र सद्भाव कायम गर्दै कार्यक्रम सफल बनाउनु होला । साथै, सम्पूर्ण लिम्बुवानी जनताहरूलाई सदाझैं यही जेष्ठ ७, ८ र ९ को आमहड्तालमा सडकमा उत्रन अनुरोध गर्दछौं । किनकि, यसबेला हामी लिम्बुवान हुन नदिने षडयन्त्रलाई ध्वस्त गर्ने निर्णायक आन्दोलनका शृङ्खलाहरूमा छौं । जय लिम्बुवान ! संघीय अभिवादन !! 
........................ 
कुमार लिङ्देन 'मिराक' 
केन्द्रीय अध्यक्ष मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद 
केन्द्रीय कार्य समिति 
लिम्बुवान, नेपाल

No comments: