News

May 18, 2012

२१९ जनालाई मानपदवी दिइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेष्ठ ५ - सरकारले सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई एक वर्षअघि घोषित विभूषण आगामी जेठ ९ मा वितरण गर्ने भएको छ । शीतल निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामवरण यादवले विभूषण प्रदान गरी राष्ट्रका तर्फबाट सम्मान गर्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रमुख दलका नेताहरू र उच्च पदस्थ अधिकारीहरूसमेत उपस्थित हुनेछन् । सरकारको सिफारिसमा राष्ट्रपति यादवले ०६७ जेठ १५ मा सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका २ सय ७० जना व्यक्तिलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने घोषणा गरेका थिए । यही जेठ ९ मा आयोजना हुने कार्यक्रममा विभूषणबाट सम्मानित गर्ने भनी घोषित २ सय ७० जनामध्ये राष्ट्रपति यादवले २ सय १९ जनालाई मात्र मानपदवी प्रदान गर्ने कार्यक्रम रहेको छ । अलंकार र पदक बनाउन बाँकी रहेकाले जेठ ९ मा मानपदवीमात्र प्रदान गर्न लागिएको जानकारी स्रोतले दिएको छ । विभूषित गर्ने भनी घोषित भए पनि सार्वजनिक रूपमा अस्वीकार गरेका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, प्रसिद्ध कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा पत्रकारद्वय कनकमणि दीक्षित र युवराज घिमिरेका निम्ति समेत मानपदवी बनाइएको छ । गृह मन्त्रालयमा अस्वीकार गरेको भनी कुनै लिखत नआएकाले उनीहरूलाई समेत मानपदवी बनाइएको हो । मानपदवीमा नाम नलेखिने भएकाले कसैले अस्वीकार गरी नलिएमा ती अर्को वर्ष अरू व्यक्तिलाई दिन सकिने जानकारीसमेत स्रोतले दिएको छ । मानपदवीबाट सम्मान गर्ने घोषित गरिएका तत्कालीन प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई भने विशेष अदालतबाट सुडान घोटाला प्रकरणमा भ्रष्टाचार गरेको प्रमाणित गरेकाले प्रदान गरिने छैन । अन्तिम अदालतबाट सफाइ पाएमा भने पछि उनलाई मानपदवी प्रदान गरिनेछ । ०६७ मा घोषित व्यक्तिलाई विभूषण प्रदान गर्न बाँकी रहेकाले ०६८ मा भने कसैले पनि दिने घोषणा गरिएको थिएन । ०६७ मा घोषित व्यक्तिलाई विभूषण प्रदान गरेपछि यस वर्षको गणतन्त्र दिवसका दिनमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने घोषणा गर्नेछन् । सरकारले एक/दुई दिनभित्रै ०६९ मा विभूषण प्रदान गरिने व्यक्तिहरूको नाम घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने गृहकार्य गरिरहेको जानकारीसमेत स्रोतले दियो ।

No comments: