News

Dec 9, 2010

प्रतिशोधको कारबाही भए पनि हामी निरन्तर सूचना लिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, २१ मंसिर,अमेरिकी विदेश मन्त्रालयको सूचना 'लिक' गरेर विश्व हल्लाउने विकिलिक्सका संस्थापक जुलियन पल असान्ज गिरफ्तार भएका छन् । तर, विकिलिक्सले गोप्य दस्ताबेज सार्वजनिक गरिरहने जनाएको छ । सर्वशक्तिमान राष्ट्र अमेरिकाले कूटनीतिक आवरणमा कसरी रणनीतिक सञ्जाल बनाइरहेको छ भन्ने खुलासा विकिलिक्सबाट भएको छ । वेबसाइटले विश्वभर रहेका दुई सय ७० अमेरिकी नियोगबाट विदेश मन्त्रालयले संकलन गरेका दस्ताबेज क्रमशः खुलासा गरिरहेको छ । इराक र अफगानिस्तान युद्धका अन्तरकथा तथा इरान र चीनलगायतका विभिन्न देशबारे अमेरिकाको भित्री धारणा विकिलिक्सबाट छरपस्ट भएका छन् । विभिन्न देशबारे अमेरिकाको वास्तविक धारणा छरपस्ट भएपछि विकिलिक्सविरुद्ध अमेरिका आक्रोशित भएको छ भने कयाँै देश अमेरिकालाई साथ दिँदै असान्जविरुद्ध खनिएका थिए । यही क्रममा स्विडेनले यौन दुव्र्यवहारको पुरानो मुद्दामा असान्जविरुद्ध गतसाता इन्टरपोलमार्फत वारेन्ट जारी गरेको थियो ।
स्विडेनले जारी गरेको वारेन्टबारे जानकारी लिन असान्ज आफ्ना वकिलका साथ मंगलबार लन्डन प्रहरीमा गएका थिए । त्यहीँबाट उनलाई पक्राउ गरिएको हो । उनले स्विडेनमा रहँदा दुई महिलालाई यौन दुव्र्यवहार गरेको आरोप छ । तर, असान्जले भने यसबारे यसअघि नै प्रष्टीकरण दिइसकेका छन् । 'स्विडेनमा रहँदा दुई महिलासँग यौनसम्पर्क भएको हो, तर सहमतिमा,' उनले भनेका छन् ।
तर, एउटी महिलाले असान्जले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । यो विषयमा प्रारम्भिक छानबिनपछि बेलायती प्रशासनले असान्जलाई स्विडेनसमक्ष सुपुर्दगी गर्ने भएको छ । तर, उनका वकिलहरूले स्विडेनले पर्याप्त आधारसमेत नदेखाई वारेन्ट जारी गरेको दाबी गरेका छन् ।
आफ्ना संस्थापकविरुद्ध प्रतिशोधात्मक कारबाही भएको भन्दै विकिलिक्सले दस्ताबेज सार्वजनिक गर्न नछाड्ने घोषणा गरेको छ । विकिलिक्सले आफूलाई प्राप्त दस्ताबेज विभिन्न सञ्चारमाध्यमबाट प्रसार गर्ने तयारी यसअघि नै पूरा गरिसकेको छ ।
असान्जले यसअघि नै दुई सयभन्दा बढी गोप्य वेबसाइट बनाई अमेरिकी गोप्य दस्ताबेज 'अपलोड' गरिसकेका छन् । विकिलिक्सजस्ता कयौँ वेबसाइट बन्द गरिए पनि त्यस्ता थुप्रै वेबसाइटबाट सूचना आइरहने भएको छ । विकिलिक्सले आफूलाई सहयोग गर्न र बलियो बनाइराख्न प्रशंसकसँग आग्रह गरेको छ । जवाफमा लाखौँ प्रशंसकले विकिलिक्सलाई प्रोत्साहित गरिरहेका छन् ।
अमेरिकी विदेश मन्त्रालयका दुई लाख ५१ हजार दस्ताबेजसम्म पहुँच पुर्‍याउने र तिनलाई विश्वसामु पुर्‍याउने जुलियन असान्ज विद्यालयको ढोका पनि नकुल्चेका व्यक्ति हुन् । धेरै जान्ने भए सम्पत्तिमा लोभ गर्छन् भनेर बाबुआमाले नै पढ्न नदिए पनि असान्ज आफैँ यस्ता असाधारण व्यक्ति साबित भए, जसले कम्प्युटर, वेबसाइट र ह्याकिङमा अहिलेसम्म नगरेको काम गरे ।

No comments: