News

Apr 2, 2011

अफगानिस्तानमा ५ नेपालीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १८ अफगानिस्तानको मजार-ए-सरिफस्थित राष्ट्रसंघीय कार्यालयमा आक्रोशित मुस्लिमहरूले शुक्रबार गरेको सांघातिक आक्रमणमा ५ नेपालीसहित १३ जनाको मृत्यु भएको छ । राजधानी काबुलको सुदूर उत्तरी भेगमा पर्ने मजार-ए-सरिफमा रहेको मस्जिदमा शुक्रबारको प्रार्थना सभा पूरा भएपछि सोही प्रार्थनासभामा आएकाहरूले नजिकैको राष्ट्रसंघीय कार्यालयमा अचानक हमला सुरु गरेका थिए । हमला गर्न गएका समूहले सुरक्षाकर्मीको बन्दुक र हतियार खोसेर उनीहरूमाथि प्रहार सुरु गरेका थिए । हमलामा सुरक्षा गार्ड रहेका नेपालीमध्ये दुईको टाउको छिनालिएको र अरू तीनले झडपमा ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमका काबुलस्थित एक प्रतिनिधिले बताए । ती नेपालीको परिचय भने खुल्न सकेको छैन । अमेरिकाको फ्लोरिडास्थित एउटा सानो चर्चमा रहेका पादरीले इस्लाम धर्मग्रन्थ कुरानलाई गत महिना जलाएको विषयलाई मजार-ए-सरिफ मस्जिदका इस्लाम धर्मगुरुले सुनाएपछि प्रार्थनारत समुदाय राष्ट्रसंघ कार्यालयमा हमला गर्न तयार भएको थियो । राष्ट्रसंघीय कार्यालय परिसरमा धर्नाबाजी हुँदै इस्लामिक समूहले आगजनी र प्रतिकार सुरु गरेका थिए । घटनामा हमला गर्न आएका मुस्लिम समुदायका आठ जनासमेत मारिएका छन् । विद्रोही तालिवान समूहको कुनै प्रभाव नरहेको र मुलुककै सात सुरक्षित स्थलमध्ये एक मानिएको मजार-ए-सरिफमा अहिले सयौंको संख्यामा राष्ट्रसंघीय सुरक्षाकर्मीहरू तैनाथ गरिएको एसोसिएट प्रेसले जनाएको छ । फ्लोरिडाको चर्चमा भएको घटनालाई लिएर अफगानिस्तानका अन्य सहरहरूमा पनि अमेरिकाविरोधी विद्रोहहरू देखिन थालेको समाचारमा जनाइएको छ । पश्चिमी अफगानिस्तानको हेरात सहरमा अमेरिकी झन्डा जलाउँदै इस्लामिक समुदायको जुलुसमा 'अमेरिकीको मरण होस्', 'अमेरिकाले इस्लामको मुटु टुक्र्याए' भन्दै नाराबाजी भइरहेको जनाइएको छ । काबुलस्थित अमेरिकी दूतावासमा पनि स्वःस्फुर्त इस्लामिक समुदायको भेला सुरु भएको जनाइएको छ । अफगानिस्तानमा २५ हजारभन्दा बढी नेपाली श्रमिक छन् भने अफगान मामिला पाकिस्तानको इस्लामावादस्थित नियोगले हेर्दै आएको छ ।

No comments: