News

Apr 23, 2011

बेबिलोन डिस्कोबाट १६ वर्षमुनिका ५३ किशोर-किशोरी पक्राउ

वैशाख १० - राजधानीको सुन्धारास्थित बेबिलोन डिस्कोबाट प्रहरीले शनिबार अपरान्ह ५३ जना किशोर-किशोरी पक्राउ गरेको छ । जनसेवा प्रहरी प्रभागको टोलीले धुम्रपान गरिरहेको र आपत्तिजनक अवस्थामा रहेकाबेला उनीहरुलाई छापा मारेर पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ३९ किशोर र १४ किशोरी पक्राउ परेका हुन् । उनीहरुलाई अहिले प्रभागमै राखिएको सई मधुसुदन सिंहले जानकारी दिए । 'बेबिलोनसँग हामीले पहिले पनि किशोर-किशोरीलाई प्रवेश नदिने सहमति गरेका थियौं,' सिंहले ई-कान्तिपुरसित भने, 'अभिभावकबाट गुनासो आएपछि छापा मारेका हौं ।' पक्राउ परेका अधिकांश १६ वर्षमुनिका छन् । उनीहरुलाई अभिभावकलाई बोलाएर शनिबार साँझसम्ममा सम्झाई बुझाई जिम्मा लगाउन सुरु गरिएको सिंहले जानकारी दिए । प्रहरीले २०६६ साल चैतमा पनि बेबिलोन डिस्कोमा छापा मारेर स्कूल/कलेजकै पोशाकमा तीन सयभन्दा बढी किशोर-किशोरी पक्राउ गरेको थियो ।

No comments: