News

Apr 18, 2011

जिरे खुर्सानीका साथमा इजरायलका नेपालीले नयाँ बर्ष मनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,इजरायल
नेपाली नयाँ बर्ष २०६८को उपलक्ष्यमा इजरायलको तेल अभिभमा नेपाल टेलिभिजनका चर्चीत हास्य टेलिशृंखला जिरे खुर्सानीका कलाकार शिवहरी पौडेल र किरण कुमार के सी तथा नवोदित गायक अन्जान डल्लाकोटीका साथमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । मेरोसंदेश डट कमद्वारा आयोजित हास्य व्यंग्य, गीत सङ्गीत नृत्य लगायत विविध मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुको पनि उत्तिकै सहभागिता रहेको थियो । नया बर्षको शुभकामना आदान प्रदान संगै अत्यन्त हर्षोल्लास पूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रममा नेपाली दुतावास इजरायलका महामहिम राजदुतज्यु, इजरायलस्थित नेपाली तथा विदेशी संघ संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका समाजसेवीहरुको उपस्थिति रहेको थियो, यद्यपि कार्यक्रम भने नितान्त अनौपचारिक ढंगबाट संचालन गरियो ।
शिवहरी पौडेल र किरण केसीको जीवन्त र समसामयिक हास्यव्यंग्य प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो भने कलाकार किरण केसीले भने आफ्नो सुमधुर स्वरमा गीत पनि उत्तिकै बेजोड गएर दर्शकहरुलाई नचाए । भर्खर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिलो कोशेली " नजलाउ " लिएर नेपाल देखि आएका नवोदित गायक अन्जान डल्लाकोटी तथा हेम उप्रेती, कविता क्षेत्री, स्यानु खड्गी र ओम प्रसाई लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति पनि कार्यक्रमको आकर्षक पक्ष रह्यो । कार्यक्रमको दोश्रो चरणमा इजरायलको कृषि क्षेत्रमा कार्य गरि स्वदेश फिर्दै गरेका सहृदयी मित्र नर्बु शेर्पाको बिदाई पनि गरिएको थियो । यसपटकको जिरे खुर्सानी साँझमा सामुदायिक सेवाका नाउमा खुलेका अनेकौं संघ संस्थाका प्रतिनिधिहरुलाई मन्चमा आमन्त्रित नगरी, त्यस्ता व्यक्तिहरु जसले निस्वार्थ भावले बिभिन्न क्षेत्रबाट सामाजिक कार्य गर्दै आए, र जसले विशेष गरी कार्यक्रम सफल बनाउन उल्लेख्य योगदान दिए, साथ् र सहयोग गरे, उनीहरुलाई प्रशंसापत्र वितरण गरियो । नाउमात्रको संस्था खोलेर मन्चमा आसिन हुने प्रवृत्तिको बिरोध स्वरूप यसो गरिएको कुरा मेरोसंदेशका संचालक कृष्णपक्षले बताए । राति नौ बजे देखि बाह्र बजे सम्म संचालित सो कार्यक्रम रुपा घिमिरे र कृष्ण अधिकारीले संचालन गर्नु भएको थियो ।

No comments: