News

Apr 6, 2011

तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक समिति अन्तर्गत विवाद समाधानका लागि गठन गरिएको उपसमितिको संयोजकका विषयमा कुरा नमिलेपछि आज बसेको तीन मुख्य दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुङ्गिएको छ । सहमति खोज्न भन्दै एकीकृत नेकपा माओवादी नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठकसिंहदरबारमा बिहान बसेको हो । उपसमितिको संयोजकको जिम्मेवारी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिने प्रस्ताव एकीकृत माओवादीले दोहोर्याएपछि आज पनि काङ्ग्रेस र एमालेले असहमति जनाएका हुन् । उपसमितिका संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्य व्यस्तताको कारणले जिम्मेवारी छाड्ने प्रस्ताव राख्दै आउनुभएको छ । जसलाई राखे पनि पार्टीभित्रको आन्तरिक विषयमा अरु पार्टीले हस्तक्षेप गर्न नमिल्ने माओवादीको भनाइ छ । नेपाली काङग्रेसका रमेश लेखकले विवादमा सहमति खोज्नका लागि अध्यक्ष प्रचण्ड बाहेक अरु संयोजक रहँदा सजिलो नहुने बताउनुभयो ।
सहमति हुन नसकेपछि पर्सी २५ गते बस्ने संवैधानिक समितिको बैठकले संयोजकका विषयमा निर्णय गर्ने एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसबीच संविधानमा दलित अल्पसङ्ख्यक समुदाको मागलाई स्पष्ट रुपमा संबोधन गरिनुपर्ने मागका विषयमा तीन दलका नेताहरुले सहमति जनाएका छन् । तर दलित जनजाति पार्टीका नेता विशेन्द्र पासवानले भने लिखित रुपमा नेताहरुको प्रतिवद्धता आउनुपर्ने बताउनुभएको छ ।

No comments: