News

Apr 27, 2011

बन्दमा ३१ जनालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १४ - नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले राजधानी तथा तराईका केही जिल्लामा बुधबार जातीय तथा क्षेत्रीय संगठनले आहृवान गरेको बन्दमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई छानबिन गरी छाडिने गृह मन्त्रालयले जनाएको छ । नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले राजधानी तथा आसपास, सुदूर पश्चिमा क्षेत्रीय समूह तथा मध्य तथा पूर्वी तराईमा दलित जनजाति पार्टी, जातीय मोर्चाले बन्द आहृवान गरेका थिए । मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले बुधबार साँझ विज्ञप्ती जारी गर्दै सर्वसाधारणको आवागमनमा बाधा पुर्‍याउने ३१ जनालाई पक्राउ गरिएको जनाएका छन् । प्रहरीले काठमाडौंमा ४, वीरगञ्जमा १०, कास्कीमा ५ र धनुषामा १२ जनालाई पक्राउ गरेको हो । विज्ञप्तीमा जनाइएअनुसार बन्दकर्ताहरुले पाटनढोकमा बा ४२ प ९२०८ नम्वरको मोटरसाइकल, ग्वार्कोमा बा १ ज ४०३१ नम्वरको ट्याक्सी र बा ७ प २०४१ नम्वरको मोटरसाइकल, बालकुमारीमा बा १ ज ४२५० नम्वरको ट्याक्सी टोडफोड गरेका छन् । भोटाहिटीमा बा २५ प २५२३ नम्वरको मोटरसाइकल, धादिङवेसीमा ५ वटा बस र ट्रक, धनगढीमा एउटा ट्रक तोडफोड गर्नुका साथै भोटाहिटीमा कान्तिपुर दैनिकका केही पत्रिका जलाएका छन् ।
बन्दले राजधानीसहित मोफसलका केही जिल्ला प्रभावित भए । बन्द साँझ चार बजेदेखि खुलेको संघर्ष समितिले जनाएको छ । समयमै संविधान निर्माण, आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न तथा संविधानसभाको म्याद थपविरुद्ध बन्द आहृवान गरिएको संघर्ष समितिले जनाएको छ । बन्दको पूर्वसन्ध्यामा नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले मंगलबार साँझ मसाल जुलुस निकालेको थियो भने बुधबार साँझ वसन्तपुरमा सभा गरेको थियो । बन्द आहृवानकर्ताले एम्बुलेन्स, प्रेस, राष्ट्रसंघ, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारवादीका सवारी, रेडक्रसका सवारीलाई भने रोक लगाएनन् ।

No comments: