News

Apr 13, 2011

गृह नपाए चार जना मन्त्रीलाई पनि फिर्ता बोलाउने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ३० - माओवादी सचिव सीपी गजुरेलले अबको मन्त्रिपरिषद् विस्तारमा गृह मन्त्रालय नपाए चार जना मन्त्रीलाई पनि फिर्ता बोलाउने चेतावनी दिएका छन् । गजुरेलले गृह मन्त्रालय दिनेबारे एमाले सकारात्मक नदेखिए चार जना मन्त्रीलाई पनि फिर्ता बोलाएर बाहिरबाटै सहयोग गर्ने बताए । 'अबको मन्त्रिपरिषद् विस्तार हुँदा या त हामी गृहमन्त्रीसहित सहभागी हुन्छौं,' बुधबार राजधानीमा आयोजित साक्षात्कारमा गजुरेलले भने, 'नभए चार जना मन्त्रीलाई पनि फिर्ता बोलाएर बाहिरबाटै सहयोग गर्छौं ।' गृहमन्त्री नपाएसम्म सरकारमा नजाने पार्टी निर्णय यथावत् रहेको गजुरेलले बताए । उनले सात बुँदे सहमतिलाई एमालेले कुल्चिएकोसमेत आरोप लगाए । माओवादीले गृह मन्त्रालयबिना सरकारमा नजाने अडान राखेकाले एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको दुई महिनासम्म पनि सरकारले पूर्णता पाएको छैन । माओवादीबाट अहिले चार मन्त्री सरकारमा छन् । तर उसले भागबण्डामा ११ मन्त्रालय पाएको छ । एमाले सचिव युवराज ज्ञवालीले भने शान्ति प्रक्रिया अगाडि बढेको विश्वास सवै दलमा भएपछिमात्र गृह मन्त्रालय माओवादीलाई दिन सकिने बताए । 'शान्ति प्रक्रिया अगाडि बढ्यो है भन्ने विश्वास सवै दलमा हुनुपर्‍यो,' उनले भने, 'त्यसपछि गृहमन्त्रालय माओवादीलाई वा कसैलाई पनि दिन सकिन्छ तर अहिले प्रधानमन्त्रीसँगै रहेको गृह कसैलाई दिइन्न ।' ज्ञवालीले गृहको तानातानतिर नलाग्न माओवादीलाई आग्रह गरे ।

No comments: