News

Jan 12, 2012

पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इस्लामावाद, पुस २८ - पाकिस्तानी सेनालाई दबाबमा राख्न अमेरिकासँग मद्दत मागेको भनिएको 'मेमो' लाई लिएर पाकिस्तानमा सरकार र सेनाबीच विवाद चर्किएको छ । प्रधानमन्त्री युसुफ रजा गिलानीले पद दुरुपयोग गरेको आरोपमा बुधबार सेनासँग निकट रक्षासचिव नइम खालिद लोधीलाई हटाएका छन् । सेनाले मेमो प्रकरणले गम्भीर परिणाम ल्याउने चेतावनी दिएलगत्तै प्रधानमन्त्री गिलानीले रक्षासचिवलाई हटाएका हुन् । नागरिक सरकार र सेनाबीच पुलको काम गरिरहेका लोधी अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हुन् । उनको स्थानमा गिलानीले आफूनिकट क्याबिनेट सचिव नर्गिस सेथीलाई ल्याएका छन् । गत सोमबार एक चिनियाँ अखबारलाई अन्तर्वार्ता दिँदै गिलानीले सेना प्रमुख अस्फाक पर्वेज कयानी र गुप्तचर प्रमुख अहमद सुजा पासाले संविधानविपरीत काम गरिरहेको बताएका थिए । त्यतिबेला कयानी चीन भ्रमणमा थिए । यसलाई सेनाले आफ्नो छवि धमिल्याउने षड्यन्त्र ठानेको छ । मेमो प्रकरणमा सरकारी अनुमतिबिनै सेनाले अदालतमा वकपत्र बुझाएपछि गिलानी क्रुद्ध बनेका हुन् ।
सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले गम्भीर परिणाम ल्याउन सक्ने उल्लेख छ । 'सेना र गुप्तचर प्रमुखविरुद्ध सम्माननीय प्रधानमन्त्रीले लगाएको आरोप योभन्दा थप गम्भीर हुन सक्दैन,' सेनाले भनेको छ, 'संविधान उल्लंघन भएको भन्दै अधिकृतहरूमाथि दुर्भाग्यपूर्ण रूपमा अभियोग लगाइएको छ ।'
प्रधानसेनापति कयानी मंगलबार चीन भ्रमणबाट फर्किएका थिए । लगत्तै गिलानीको आरोपप्रति गम्भीर चासो राख्दै उच्च सैन्य अधिकारीहरूसँग छलफल गरे । रक्षासचिवलाई अपदस्थ गरिएलगत्तै बुधबार कयानीले 'पि्रन्सिपल स्टाफ अफिसर्स' बैठक डाकेका थिए । उनले बिहीबार पनि उच्च कमान्डरहरूको बैठक राखेका छन् ।
प्रधानमन्त्रीले लोधीमाथि 'राज्यका निकायहरूबीच असमझदारी पैदा गरेको' आरोप लगाएका छन् । गत डिसेम्बर १५ मा मेमोगेटबारे सर्वोच्च अदालतमा सुनुवाइका क्रममा लोधीले पाकिस्तानी सेना र गुप्तचर निकाय (आईएसआई) मा रक्षा मन्त्रालयको कुनै नियन्त्रण नरहेको बताएका थिए । उनको यस भनाइको सरकारले कडा प्रतिक्रिया जनाएको थियो । प्रधानमन्त्री गिलानीले संसद्मा सम्बोधन गर्दै सेना र सरकारबीच कुनै मतभेद नभएको बताएका थिए । ६ दशकको इतिहास भएको पाकिस्तानमा सेनाले पटक-पटक 'कु' मार्फत आधाभन्दा बढी समय शासन गरेको छ । त्यसैले मेमो प्रकरणमा चर्किएको विवादले पनि धेरैलाई सशंकित तुल्याएको छ । सर्वोच्च अदालतले मंगलबार मात्रै भ्रष्टाचार प्रकरणमा पाकिस्तानी राष्ट्रपति असिफ अली जर्दारी र प्रधानमन्त्री दुवैमाथि कारबाही हुन सक्ने चेतावनी दिएको थियो ।
दशक लामो सैन्य तानाशाहपछि २००८ मा राष्ट्रपति बनेका जर्दारीका लागि मेमोगेट काण्ड सबैभन्दा ठूलो संकट बनेको छ । शक्तिशाली र 'कु' मा कहलिएको पाकिस्तानी सेनाले यसलाई अवसरका रूपमा लिन्छ कि भन्ने धेरैको आशंका छ । यसैबीच सेनाले तत्कालै रावलपिण्डीस्थित इकाईको कमान्डर परिवर्तन गरेको छ । विगतका 'कु'हरूमा महत्त्वपूर्ण भूमिका खेलेको उक्त १११ बि्रगेडको नयाँ कमान्डर बि्रगेरियड जनरल सर्फराज अलीलाई बनाइएको छ ।

No comments: