News

Jan 11, 2012

बाबुरामकै सरकार पुनर्गठन गर्ने 'सहमति'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २७,एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा मन्त्रिपरिषद् परिवर्तन गर्ने सहमति उपाध्यक्ष मोहन वैद्यसँग भएको केही पोलिटब्युरो सदस्यहरूसँगको भेलामा बताएका छन्। वैद्यसँग सोमबार भएको सहमतिबारे प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको पोलिटब्युरो भेलामा जानकारी गराउँदै दाहालले भने, 'बाबुरामजीकै नेतृत्वमा मन्त्रिपरिषद् परिवर्तन गर्न सकिन्छ।' भेलामा दाहाल र भट्टराईनिकट केही पोलिटब्युरो सदस्य सहभागी थिए। सहमतिपछि वैद्य पक्षधर सरकारमा सहभागी हुने जनाउ दिँदै दाहालले मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी गराएका हुन्। 'वैद्यजीहरू सरकारमा सहभागी हुने भएपछि क्याबिनेट पुनर्गठन गर्नुपर्छ,' दाहाललाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले भने। अहिलेकै अवस्थामा मन्त्रिपरिषद्मा सहभागी हुन नसक्ने वैद्य निकट पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले बताए। 'करिब असफल भइसकेको बाबुराम नेतृत्व सरकारमा जान्नौं, अहिलेसम्म गरेका गल्ती स्वीकार गरेर आएमा सोच्न सकिन्छ,' कँडेलले भने। आफूहरूको लडाइँ विचार र नीतिमा रहेको औंल्याउँदै कँडेलले नागरिकसँग भने, 'पार्टी नेतृत्व र सरकार नेतृत्वले गरेका गल्ती स्वीकारेर सच्चिनुपर्छ, हामीले सरकार, सदन र सडकमा संघर्ष गर्ने भनेका छौं, सच्चिएपछि सरकारमा जाने सोच्न सकिन्छ।'बाहिर शान्ति र संविधान अघि बढाउने र आन्तरिक रूपमा दुवै प्रस्तावमा फोरम चलाएर छलफल गर्ने सहमति भएको जानकारी दाहालले भेलामा दिएको अर्का पोलिटब्युरो सदस्य अग्नि सापकोटाले बताए। 'दुवै प्रस्तावलाई फोरम चलाएर तलसम्म जाने, पार्टीका क्रियाकलाप अघि बढाउन जनपरिचालन गर्नेमा वैद्य पक्षसँग सहमति भएको छ,' दाहाललाई उद्धृत गर्दै सापकोटाले भने। भट्टराई पक्ष पोलिटब्युरो सदस्यहरूले सरकार नेतृत्व परिवर्तनबारे के सहमति भयो भनेर दाहालसँग जिज्ञासा राखेका थिए। दाहालले सरकार नेतृत्व परिवर्तन गर्दा सेना समायोजन, संविधान लेखन, शासकीय स्वरूपमा 'बार्गेनिङ पावर' कम हुने भएकाले भट्टराईलाई निरन्तरता दिने जवाफ दिएका थिए।
फोरम चलाउने क्रममा समानान्तर समिति बन्नसक्ने आशंका छलफलमा उठेको थियो। 'फोरम चलाउँदा पहिलेजस्तै समानान्तर समिति बनाएर जाने छलफल भयो, मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्रालय, मर्यादाक्रम सबैलाई चित्त बुझ्ने गरी जाने सहमति भएको अध्यक्षले जानकारी गराउनुभयो,' पोलिटब्युरो सदस्य नवराज सुवेदीले भने। शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति चुनिने, सम्मानजनक सेना समायोजन, जनपक्षीय संविधान निर्माण गर्न वैद्यसँग सहमति भएको दाहालले भेलामा जानकारी गराएका थिए। दाहाल-वैद्य सहमतिले तत्काल पार्टीभित्रको अन्तर्विरोध हल भएको देखिएको छ। जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यले छुट्टाछुट्टै राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
बुधबार बस्ने केन्द्रीय समितिमा तात्कालिक कार्ययोजनामा एक भएर जाने सन्देश दिने तयारी भएको छ। दाहाल-वैद्यले मंगलबारदेखि आफू निकटहरूसँग सहमति भएका विषयबारे जानकारी गराइरहेका छन्।

1 comment:

Unknown said...

rajnitima k ho k ho...congress ra cpnuml euta kura garchha maobadi arko kura...nepalko rajniti khattam chha :( :( If you wish..visit me here