News

Jan 27, 2012

नेपालले पुरानै सगरमाथाको उचाइलाई मान्यता दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १३- चीनले सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर मान्न दबाब दिए पनि नेपालले अस्वीकार गर्दै पुरानै उचाइलाई मान्यता दिने निर्णय गरेको छ। आउँदो साता चीनमा हुने नेपाल-चीन प्राविधिक समितिको द्विपक्षीय सीमा बैठकमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर नै राखी सीमा नक्सा कोर्ने आधिकारिक धारणा नेपालले बनाएको हो। 'पुरानै सगरमाथाको उचाइलाई मान्यता दिने' सम्बन्धी परराष्ट्र मन्त्रालयले बिहीबार पेस गरेको प्रस्ताव मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो। मन्त्रिपरिषदको निर्णयअनुसार अब बन्ने नेपाल-चीन सीमा नक्सामा सगरमाथाको उचाइ हिउँसहित ८ हजार ८ सय ४८ मिटर (२९ हजार २९ फिट) र चट्टानको मात्र ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर (२९ हजार १७ फिट) गरी दुईथरी उचाई राख्ने प्रस्ताव नेपालले बैठकमा राख्ने छ। 'नेपाल-चीन सीमा नक्सामा हिउँसहित र हिउँबाहेकको चट्टान गरी दुईथरी उचाइ राख्ने निर्णय भएको छ,' मन्त्रिपरिषद् निर्णयबारे भूमिसुधार तथा व्यवस्थामन्त्री भिमप्रसाद गौतमले नागरिकलाई बताए, 'यसअघि बनेका नक्सामा सगरमाथाको हिउँसहितको उचाइ मात्र राख्ने चलन थियो।'
सगरमाथाको उचाइबारे नेपाल र चीनबीच सहमति हुन नसक्दा दुई वर्षयता दुई देशबीच सीमा बैठक हुन सकेको थिएन। दुई वर्षपछि आउँदो साता चीनमा हुन लागेको नेपाल-चीन सीमा बैठकमा ९ सदस्यीय नेपाली टोलीको नेतृत्व नापी विभागका महानिर्देशक कृष्ण बिसीले गर्नेछन्। गौतमका अनुसार चीन जाने नेपाली टोलीमा भुमिसुधार मन्त्रालयअन्तर्गत आठ र परराष्ट्रका एक कर्मचारी रहनेछन्। दुई देशले आधिकारिक निर्णय गरेर सीमासम्बन्धी साझा नक्सा बनाउने अन्तर्राष्ट्रिय प्रावधान अनुसार चीनले नेपाल-चीन सीमा नक्सामा सगरमाथाको उचाइ चट्टानको मात्र उल्लेख गर्न सन् २००५ यता बारम्बार नेपाललाई आग्रह गर्दै आएको थियो। चीनले बैठकहरूमा जति पटक यो प्रस्ताव गरे पनि नेपालले अस्विकार्दै आएकाले दुई वर्षयता दुई देशबीच प्राविधिक समितिको बैठक नै बस्न सकेको थिएन। 'हिउँको मात्रा बर्षेनी घटबढ हुने भएकोले सगरमाथाको आधिकारिक उचाइ हिउँलाई समेत जोडेर राख्दा बर्षैपिच्छे फरक पर्ने धारणा चीनको छ,' विगतका बैठकमा चीनले राख्दै आएको धारणा परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो, 'चट्टानको उचाइलाई मात्र आधिकारिक मान्दा कहिल्यै पनि सगरमाथाको उचाइ घटबढ नहुने भएकाले यसैलाई आधिकारिक मान्न उनीहरूले दबाब दिँदै आएका छन्।'
नेपालले भने आफ्ना दस्तावेज र पुस्तकमा सगरमाथाको उचाइ हिउँसहितको उल्लेख गरेकाले फेर्दा धेरै झन्झट आउने भन्दै चट्टानको मात्र उचाइलाई आधिकारिक मान्न नसकिने अडान लिँदै आएको छ। आउँदो साता हुने बैठकमा भने नेपाल केही लचिलो हुँदै सगरमाथाको आधिकारिक उचाइ हिउँसहित ८ हजार ८ सय ४८ लाई नै मान्यता दिने, तर नक्सामा चट्टानको उचाइ उल्लेख गर्न सहमति दिने निर्णयमा पुगेको छ।
हिमालको उचाइ मापनमा एकरुपता ल्याउन पनि हिउँसहितको उचाइलाई मात्र आधिकारिक मान्यता दिनुपर्ने परराष्ट्र स्रोत बताउँछ। 'चट्टानलाई मात्र सगरमाथाको आधिकारिक उचाइ मान्ने हो भने नेपालका अन्य हिमालको पनि हिउँ बाहेक चट्टानको मात्र उचाइ पत्ता लगाउनु पर्छ र त्यसलाई आधिकारिकता दिनुपर्ने हुन्छ, स्रोतले भन्यो, 'यसो गर्ने हो भने यो निकै झन्झटिलो र खर्चिलो त हुन्छ नै, साथसाथै हाम्रा सबै पुराना दस्तावेज तथा पुस्तक पनि बेकामे हुनेछन्।'
सन् १८५६ देखि सगरमाथाको उचाइ पत्ता लगाउने अभियान सुरु भए पनि आधिकारिक उचाइबारे विवाद हुँदै आएको छ। बेलायती सर्वेक्षक टोलीले पहिलोपटक गरेको त्रिकोणमितीय सर्वेक्षणले सगरमाथाको उचाइ ८ हजार ८ सय ४० मिटर (२९ हजार २ फिट) देखाएको थियो। सोही सर्वेक्षण टोलीका एक सदस्य जर्ज एभरेस्टको नामबाट सगरमाथाको अंग्रेजी नामाकरण 'माउन्ट एभरेस्ट' राखिएको थियो। बेलायती टोलीले गरेको सर्वेक्षणको झण्डै एक सय बर्षपछि सन् १९५५ मा भारतीय सर्वेक्षण टोलीले सगरमाथको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर रहेको घोषणा गरेको थिया। त्यसलाई नेपालले आधिकारिक मान्दै आएको छ। त्यसपछि सन् १९९९ मा अमेरिकी सर्वेक्षण टोलीले जिपिएस प्रविधि प्रयोग गरी सगरमाथाको उचाइ मापन गर्दै ८ हजार ८ सय ५० मिटर दाबी गर्‍यो। अमेरिकी सर्वे टोलीले निकालेको सगरमाथाको उचाईलाई युएस नेसनल ज्योग्राफिक सोसाइटीले मान्यता दिँदै आएको छ। चिनियाँ सर्वेक्षण टोलीले सन् २००५ अन्तिम पटक सगरमाथाको उचाइ मापन गरेको थियो। चिनियाँ टोलीले सगरमाथाको उचाइ ८ हजार ८ सय ४७ दशमलव ९८ मिटर निकालेको थियो। चीनको सर्वेक्षणअनुसार सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर र हिउँको मात्र उचाइ ३ दशमलव ५५ मिटर देखिएको छ। यो सर्वेक्षणपछि चीनले नेपाललाई सगरमाथाको उचाइ चट्टानको आधारमा मात्र कायम गर्न दवाब दिँदै आएको हो।

No comments: