News

Jan 13, 2012

विमस्टेक बैठक काठमाडौँमा आयोजना हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २९ - बङ्गाल खाडी क्षेत्रका सात समूह (विमस्टेक)को मन्त्रिस्तरीय दोस्रो बैठक आगामी माघ १ र २ गते काठमाडौँमा आयोजना हुने भएको छ । बैठकमा विम्स्टेकसँग आबद्ध सात देश नेपाललगायत भुटान, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, भारत, बङ्गलादेशहरुको सहभागिता रहनेछ । यस बैठकमा सन् २००८ मा बङ्गलादेशमा सम्पन्न पहिलो बैठकले पहिचान गरेका विभिन्न १४ क्षेत्रको समीक्षा गरिनुका साथै नेपालले मस्यौदा गरेको गरिबी निवारणका लागि कार्ययोजनालाई अनुमोदन गर्ने कार्यक्रम रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । सो कार्ययोजनामा गरिबी निवारणका लागि विस्तृत रणनीति, आर्थिक वृद्धि, सामाजिक विकास, सुशासनजस्ता विषय रहेको आयोगद्वारा शुक्रबार आयोजित पत्रकारसम्मेलनमा उपाध्यक्ष क्षेत्रीले बताए । सन् १९९७ मा बङ्गलादेश, भारत, श्रीलङ्का, र थाइल्यान्ड देशले स्थापना गरेको विमस्टेकमा नेपाल र भुटानले सन् २००३ मा औपचारिक रुपमा सदस्यता लिएका थिए । सङ्गठनले सदस्य देशहरु बीचमा द्विपक्षीय व्यापार तथा लगानी, प्रविधि, ऊर्जा, यातायात, सञ्चार, कृषि, वातावरण तथा प्रकोप व्यवस्थापन, जनस्वास्थ्यलगायत १४ वटा क्षेत्रमा काम गर्ने गर्दछ । मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व अर्थमन्त्री वर्षमान पुनले गर्नेछन् । सदस्य देशहरुबीचमा गरिबी निवारणका लागि हालसम्म भएका प्रयास, अनुभवलाई आदान–प्रदान गर्ने बैठक महत्वपूर्ण मानिएको छ ।

No comments: