News

Jan 26, 2012

सुशासन र सम्वृद्धिका कार्यक्रम घोषणा गर्दै प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १२- प्रधानमन्त्री बाबुराम भट्टराईले आज सुशासन र समृद्धिका दुई छुट्टाछुट्टै कार्यक्रम घोषणा गर्ने भएका छन्। शान्ति, संविधान, सुशासन र समृद्धिका 'चार स' केन्द्रित कार्यक्रममा डेरा गरेर पढ्न बसेका र गरिब विद्यार्थीका लागि ग्यास र मट्टितेलमा राहत दिने कार्यक्रम पनि समावेश छ। जनतासँग प्रत्यक्ष जोडिने सरकारी विभागहरू- वाणिज्य विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, विद्युत प्राधिकरण, आयल निगम लगायत १५-२० वटा निकायका काम प्रभावकारी ढंगले अघि बढाउने कार्ययोजना भट्टराई सरकारको छ। आज ३ बजे प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरिने कार्ययोजनामा प्रक्रियामुखी कर्मचारीतन्त्रलाई परिणाममुखी बनाउने उल्लेख छ। आर्थिक समृद्धिका कार्ययोजनामा काठमाडौं-निजगढ फास्ट ट्रयाकको निर्माण, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत परियोजना, पश्चिम सेती जलविद्युत आयोजना निर्माणका कार्यक्रम आउने छन्। बारा जिल्लाको डुमरवानामा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणजस्ता ठूला आयोजना पर्नेछन्। लुम्बिनीको बृहत्तर विकास, लगानी बोर्डको गठन जस्ता कार्यक्रम पनि आउनेछन्। रोजगारी वृद्धि कसरी गर्न सकिन्छ भन्नेबारे पनि सरकारले गृहकार्य गरिरहेको प्रधानमन्त्रीले बताए। सामाजिक न्यायअन्तर्गत विपन्न, सुकुम्बासी, चेपाङ, राउटे, अपांग, महिलाका लागि व्यवस्थापन गर्ने कार्यक्रम ल्याउने उनले बताए। राजधानीको सडक विस्तारलाई निरन्तरता दिने र खोला किनारका सुकुम्बासी बस्तीलाई हटाएर उनीहरूको व्यवस्थापन गर्ने कामलाई तीब्रता दिने प्रधानमन्त्रीले जानकारी दिए।

No comments: