News

Jan 30, 2012

कोरिया सरकारले बुद्ध सम्बन्धी भ्रम सच्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देवेन्द्र सम्बाहाम्फे
सोल , माघ १६ - दक्षिण कोरियाली सरकारले आफ्नो शैक्षिक पाठ्यपुस्तकमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल सम्बन्धी भ्रमलाई २०१३ बाट सच्याउने भएको छ । कोरियाली परराष्ट्र मन्त्रालयका एक अधिकारीले सोलस्थित नेपाली राजदूतावासलाई सोमबार भ्रम सच्याउने जानकारी गराए । 'सन् २०१२ का लागि पाठ्य पुस्तक मुद्रण भइसकेकाले आउँदो संस्करणबाट सुधार गरिने जानकारी प्राप्त भएको छ,' ती अधिकारीको भनाइ उद्यृत गर्दै कार्यवाहक नेपाली राजदूत राजाराम बर्तौलाले ईकान्तिपुरसित भने । कोरियाको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारे उल्लेख गरिएको छ । ती मध्ये एउटा पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल भारत भनि उल्लेख छ भने अर्को पाठ्यपुस्तकमा बुद्धको जन्म देखाइएको नक्सामा भारत देखाइएको छ । भ्रम सच्याउन कोरियाली सरकारले गरेको निर्णयप्रति दूतावासले स्वागत गरेको छ । गत अक्टोबर २४को कान्तिपुर दैनिकमा 'बुद्धबारे भ्रम' सम्बन्धी समाचार पढेपछि गत डिसेम्बर १९मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्ध सम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखेका थिए ।
बुद्धबारे भ्रमलाई सच्याईदिन राष्ट्रपति ली म्यङ बाकलाई लेखिएको पत्रबारे डिसेम्बर २७ मा कोरियाली पत्रकार पार्क सी सोले कोरिया टाइम्सको अनलाइन संसकरणमा 'सोल मुभ्स टु कन्र्फम बुद्धज बर्थ प्लेस' शीर्षकमा लामो समाचार लेख्दै यसबारे कोरियन सरकार गम्भीर भएको उल्लेख गरेका थिए भने केहि दिन अघिमात्र कोरियाली पत्रकारहरको प्रश्नको जवाफ दिदै काबा राजदूत बर्तौलाले भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नै भएको बताउँदै लुम्बीनी भ्रमण बर्ष २०१२ को अवसरमा भ्रमण गर्न अनुरोध गरेका थिए ।
कोरियाली निम्न माध्यमिक विध्यालयको 'ईथिक्स पार्टवान'को ७७ पेजमा भारतको खापिला क्यास्टलमा बुद्धको जन्म भएको उल्लेख छ भने माध्यमिक विध्यालयको 'वर्ल्ड हिस्टोरी' नामक पुस्तकमा बुद्धको जन्मस्थलबारे दिइएको नक्सामा भारत देखाइएको छ ।
सरकारी पाठ्य पुस्तकमा मात्र होइन कोरियाका विभिन्न गुम्बाका भिक्षुहरुद्धारा लेखिएको पुस्तकहरुमा समेत बुद्धबारे अनेकौ भ्रमहरु रहेका छन् । हे इन्सा नामक गुम्बाका भिक्षु पार्क छे छलले 'बुद्ध शाक्य मुनि' शीर्षकको पुस्तक लेख्न खोजेका हुन् तर 'बुल्था सक्का मोनी' लेखेका छन् । यसै पुस्तकको पेज न २६ २७ मा बुद्ध भारतको कपिलबस्तुमा जन्मिएको र त्यो अहिले नेपालमा पर्छ भनेर उल्लेख गरिएको छ । यो पुस्तक भरि नै 'बुद्ध' शब्दको सट्टा 'बुल्था' शब्द प्रयोग गरिएको छ । त्यसरी नै पूर्व उद्घोषिका ली ह्यन जङद्वारा लेखिएको बुद्ध शिक्षा र संस्कृति नामक पुस्तकको पेज नं ८३ मा कपिलबस्तु भारतको मध्य भागमा पर्छ जहाँ भगवान बुद्ध जन्मिएका थिए भनेर उल्लेख गरिएको छ । गौतम बुद्धको जन्म जयन्तीको उपलक्षमा गत मे १० मा वितरण गरिएको पुस्तक 'सेलेब्रेसन कमिटी फर बुद्धिष्ट बर्थ डे' नामक पुस्तकको पेज नं ६६ मा पनि 'वीच सिम्बोलिज लुम्बिनी गार्डेन इन इंडिया ह्वेर द बुद्ध वाज बोर्न' भनेर लेखिएको छ ।
'बुछनीम व्ही सेङऐ' अर्थात् 'बुद्धको जिवनी' शिर्षकमा मात्र यहाँका एक्काइस वटा प्रकाशन संस्थाहरुले बुद्धको जिवनबृतिबारे पुस्तकहरु प्रकाशन गरेका छन् । ती पुस्तकहरुमा बुद्धको प्रसंगअघि तत्कालीन भारतको विविध पक्षबारे उल्लेख गरेका छन् ।

No comments: