News

Jan 23, 2012

पशुपतिका मूलभट्टलाई सवा दुई लाख तलब प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ९- पशुपतिनाथको भेटिघाटी पारदर्शी गर्न सरकारले दुई महिनाअघि गठन गरेको समितिले भट्ट-भण्डारीलाई एक लाख ६७ हजारदेखि तीन लाख पचास हजार रुपैयाँसम्म पारिश्रमिक प्रस्ताव गरेको छ। पशुपतिनाथ मन्दिरमा चढाइने भेटिघाटी सबै भट्ट-भण्डारीले बाँडेर लिँदै आएका छन्। यसलाई व्यवस्थित गर्न गठित 'भेटिघाटी व्यवस्थापन तथा नियमावली तर्जुमा समिति'ले भट्टभण्डारीसँगको सहमतिमै तलब प्रस्ताव गरेको हो। प्रस्ताव कार्यान्वयन भएपछि मन्दिरको भेटी भट्ट-भण्डारीले बाँडेर लिने परम्परा अन्त्य भई पशुपतिनाथकै विकास निर्माणमा लगाइनेछ। समितिका एक सदस्यका अनुसार मूलभट्टलाई दुई लाख ३२ हजार र अन्य चार भट्टलाई प्रतिव्यक्ति मासिक एक लाख ६७ हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गरिएको छ। त्यसैगरी भण्डारीलाई पालो परेका बेला तीन लाख ५० हजार रुपैयाँ पारिश्रमिक दिने प्रस्तावमा उल्लेख छ। 'भट्ट-भण्डारीसँगको सहमतिपछि सम्पूर्ण भेटिघाटी कोषमा दाखिला गरी उनीहरूलाई तलब तोकिएको छ,' समितिका एक सदस्यले भने, 'उनीहरूका लागि प्रस्तावित सेवा सुविधासहितको प्रतिवेदन सोमबार सरकारलाई बुझाउँछौं।'

No comments: