News

Jan 31, 2012

डीआइजी कोइरालालाई ' पत्नी हत्यासँगै अवैध हतियार मुद्दा'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १७- श्रीमती हत्या अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाविरुद्ध हत्यासँगै अवैध हतियार राखेको अभियोगसमेत लगाइने भएको छ। इचंगुनारायणस्थित उनको घरमा छापा मार्दा भेटिएका दुई वटा हतियार र एक सय ३२ साउन्ड गोली अवैध भएको प्रहरीले जनाएको छ। श्रीमती गीता ढकालको हत्या गरेको अभियोगमा उनी माघ ८ गते पक्राउ परेका थिए। उनलाई थुनामा राखेर महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरले अनुसन्धान गरिरहेको छ। उनी पक्राउ परेको भोलिपल्टै प्रहरीले इचंगुनारायण-६ स्थित उनको घरको तलासी गरेको थियो। जसमा म्यागजिन नभएको बाइस म्याग्नेम हतियार र ३० राउन्ड गोली, काठको बिड भएको कटुवा पेस्तोल र पाँच राउन्ड गोली ९७ राउन्ड अन्य गोली बरामद भएको थियो। महानगरीय प्रहरी आयुक्त कार्यालयले सोमबार सार्वजनिक गरेको हत्या अनुसन्धानको संक्षिप्त प्रतिवेदनअनुसार बरामद हतियार अवैध हो। 'कटुवा पेस्तोल र गोली अवैध रहेको पुष्टि भइसकेको छ,' काठमाडौं परिसरका प्रमुख एसपी राजेन्द्र श्रेष्ठले भने, 'बाइस म्याग्नेम हतियारको कागजपत्र खोजिरहेका छौं।'

No comments: