News

Jan 20, 2012

नेपाल टेलिकमले बिटिएस टावरसहितका गाडी ल्याए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ६,भिडभाड भएको ठाउँमा मोबाइलको सिग्नलमा समस्या आउन नदिन नेपाल टेलिकमले बिटिएस टावरसहितका गाडी ल्याएको छ। ठूलो आकारको एउटा र सानो दुईवटा गाडी आइसकेका छन्। यी टावरलाई भिडभाड हुँदा र नेटवर्क समस्या आएका ठाउँमा राखेर चलाउने टेलिकमको योजना छ। 'बिटिएस टावर सहितका भ्यानहरु तयार भएर अहिले परीक्षण भइरहेको छ,' प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने। सबै प्राविधिक पक्षको निर्माण गर पनि यसको सप्लायर्स कम्पनीले हस्तान्तरण गर्न भने बाँकी छ। पुल्चोकस्थित टेलिकमको मोबाइल सेवा निर्देशनालयमा अहिले यी गाडीहरु राखिएका छन्। सप्लायर्स कम्पनीका प्राविधिकहरु नयाँ वर्ष मनाउन गएकोमा अहिलेसम्म नफर्केको हुँदा हस्तान्तरण हुन बाँकी रहेको हो।
टेलिकमले गत वर्ष मोबाइल टावरसहितका गाडी किन्न ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा मोबाइल टावरका १३ वटा गाडीहरु किन्ने उल्लेख थियो। यसमध्ये पहिलोपटक तीनवटा आएर तयार भइसकेका हुन्। १३ वटामध्ये तीनवटामा ब्याकअपसहितको सिस्टम रहने र १० वटामा भने जेनेरेटर, टावरहरु हुने छन्।
तयार भएका गाडीलाई औपचारिक कार्यक्रममार्फत सञ्चालनमा ल्याउने तयारी टेलिकमले गरिरहेको छ। पाँचवटा गाडीलाई काठमाडौंबाहिर क्षेत्रीय कार्यालयमा राख्ने योजना टेलिकमको छ। जुन ठाउँमा समस्या देखिन्छ त्यही ठाउँमा पुर्‍याएर सेवा सञ्चालन गर्ने योजना रहेको प्रबन्ध निर्देशक सिंहले बताए।
फोर्ड कम्पनीको गाडीमा राखिएका टावरलाई सभा सम्मेलन हुँदा टुँडिखेल, दशरथ रंगशाला, बानेश्वरजस्ता ठाउँमा लगेर राखिनेछ। त्यसले गर्दा मोबाइल कलको ट्राफिकमा समस्या नआउने टेलिकम अधिकारीहरुले बताए। 'गुणस्तरलाई सुधार्न र मानिसको बढी चहलपहल हुने ठाउँमा समस्या नहोस् भनेर यस्तो बिटिएस किन्ने निर्णय गरेका हौं,' प्रबन्ध निर्देशक सिंहले भने। काठमाडौंमा बढी भिडभाड हुने बानेश्वर, खुलामञ्च र खेल हुँदा दशरथ रंगशालामा यस्ता गाडीलाई परिचालित गरिनेछ। झन्डै दुई वर्षअघि पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टि समारोहमा मोबाइल फोन नलागेर हैरानी भएपछि टेलिकमले यस्तो गाडी किन्ने योजना बनाएको थियो। विदेशमा पनि यस्तो बिटिएस भ्यान सञ्चालन गरेर भिडभाड हुँदा सर्वसाधारणले सजिलै कुराकानी गर्न सक्ने अवस्था बनाइन्छ।
अहिले तीनवटा तयार भएपछि टेलिकमले चरणवद्ध रुपमा अरु गाडीसमेत ल्याएर आवश्यक पर्ने स्थानमा परिचालन गर्नेछ। तीनवटा गाडीमा भने पुरै मोबाइलको ब्याकअप र सिस्टमसमेत हुनेछ। प्राकृतिक एवं दैवी प्रकोप पर्दासमेत यस्ता गाडीमा हुने डाटाले गर्दा भविष्यमा कुनै समस्या आउन दिँदैन। झट्ट हेर्दा क्रेनजस्तो लाग्ने मोबाइल बिटिएस भ्यानमा टावरलाई फोल्ड गरेर राखिएको हुन्छ। मोबाइल टेलिफोनले काम नगरेको ठाउँमा लगेपछि अग्लो बनाएर राखिन्छ। जसले गर्दा वरिपरि रहेकाले सजिलै कुराकानी गर्न सक्छन्। मोबाइल टेलिफोन गुणस्तरको विषयमा ग्राहकदेखि प्रधानमन्त्री, मन्त्रीबाट समेत बारम्बार आलोचित हुनुपरेपछि सेवा सुधार्न टावरसहितको गाडी किन्ने निर्णय टेलिकमले गरेको हो। थाइल्यान्डको कम्पनीले बिटिएससहितको गाडी दिन सबैभन्दा सस्तो मूल्य प्रस्ताव गरेको थियो। 'जुलुस, आमसभा हुँदा त्यस्तो ठाउँमा मोबाइल टेलिफोनले भनेको समयमा काम नगर्ने हुन्छ, त्यहाँ गाडीमा रहेको टावर राख्दा सयौंले एकैपटक कुराकानी गर्न सक्छन्,' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। बाँकी गाडी आएपछि टेलिकमले विराटनगर, वीरगन्ज, पोखरा र नेपालगन्जमा समेत 'स्ट्यान्डबाई' रुपमा राख्ने निर्णय गरेको छ।

No comments: