News

Jan 18, 2012

एनसेलका ग्राहकलाई ७० लाखको पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ४,निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल कम्पनी एनसेलले सात जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार घोषणा गरेको छ। कम्पनीले यो स्किमलाई 'गोल्डेन सिमकार्ड' विजेताको नाम दिएको छ। आफ्नो ग्राहक संख्या ७० लाख नाघेको अवसरमा कम्पनीले सात जना छनौट गरेर नगद पुरस्कार घोषणा गरेको हो। पुरस्कारको लागि एनसेलको सिमकार्डमा रहेको १९ अंकको नम्बर मिल्नुपर्छ। कर समेत एनसेलले तिरेर ग्राहकलाई दिने १० लाख खुँद नगद राशीको पहिलो पुरस्कार युनिक सिम नम्बर ८९९७७-०२१०२-०६१८९-११५० ले प्राप्त गरेका छन्। एनसेलले बाँकी ६ जना ग्राहकलाई समेत क्रमशः घोषणा गर्दै १० लाखका दरले नगद पुरस्कार दिने जनाएको छ। 'हामी एनसेलका ग्राहकलाई साँच्चिकै उनीहरुको जीवनस्तरमा परिवर्तन गर्नसक्नेगरि पुरस्कार दिन चाहन्छौं,' एनसेलका चिफ कमर्सियल अफिसर अब्दु जाबोरले भने। १० लाख रुपैयाँले मानिसको जीवनस्तरमा नयाँ मोड दिनसक्ने भएकोले ७० लाख ग्राहक आधार नाघेको अवसरमा यस्तो स्किम ल्याइएको उनले बताए। 'हाम्रो सेवा सिमकार्ड मात्र होइन्, यो एउटा ठूलो रकमको चिट्ठा पनि हो,' जाबोरले भने। कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनेनले सन् २०११ मा १० करोड डलर लगानी गरेर ९० प्रतिशत नेपाली जनतासम्म सेवा विस्तार गरेको जानकारी दिए। कम्पनीले गत वर्ष सरकारलाई प्रत्यक्ष र अप्रत्यक्ष गरि १० अर्ब रुपैयाँ कर तिरेको उल्लेख गर्दै पासी कोइस्टिनेनले बिजुलीको संकटले सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न कठिनाई परिरहेको बताए। २०६२ असोजदेखि नेपालमा मोबाइल टेलिफोन सुरु गरेको एनसेलले पछिल्लो समयमा टेलिया सोनेराले सेयर किनेपछि देशव्यापी रुपमा आक्रामक सेवा विस्तार गरिरहेको छ। कम्पनीले सबैभन्दा पछिल्लो पुस्ताको लङटर्म इभोलुसन (एलटिई) सेवा सुरु गर्न प्रस्ताव गरेको छ। फ्रिक्वेन्सी उपलव्ध हुन नसकेेकाले यो सेवा सुरु गर्न कम्पनीले नसकेको जनाएको छ।

No comments: