News

Jan 20, 2012

'जनसत्ता'को निर्णय मान्यता दिएको विरोधमा संसद् अबरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ६ - सशस्त्र युद्धका बेला माओवादी 'जनसत्ता'ले गरेका घरजग्गा किनबेच, अंशबन्डा र बकसपत्रका निर्णयलाई सरकारले मान्यता दिएको विरोधमा विपक्षी दलहरुले संसद् चल्न दिएनन् । संसद् बैठकको सुरुमै एमाले सभासद् अग्नि खरेल र कांग्रेसकी पुष्पा भूसालले सरकारी निर्णय फिर्ता नभएसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने बताएका थिए । कांग्रेस-एमालेसहित विपक्षी दलका सभासद्हरु उभिएपछि बैठक स्थगित भयो । बैठक अबरुद्ध भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले सरकारी निर्णयका बारेमा सदनमा जानकारी दिन रुलिङ गरेका छन् । उनले प्रतिपक्षीले मागेको जवाफ सदनमा अनुत्तरित रहन नसक्ने बताए । 'जनसत्ता'को निर्णयलाई सरकारले मान्यता दिएको विरोधमा आन्दोलित विपक्षी कांग्रेस, एमालेसहित १७ दलको शुक्रबार बसेको बैठकले निर्णय नसच्याएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको थियो । विरोधमा संसद् बैठक अबरुद्ध पार्दै आएका कांग्रेस-एमालेलाई सरकारमा नरहेका साना दलले पनि साथ दिएका हुन् । 'जनसत्ता'को निर्णयलाई सरकारले मान्यता दिने भूमिसुधार मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले केही दिनअघि पास गरेको थियो । कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार बसेको १७ दलको बैठकले निर्णय नसच्याएसम्म संसद् चल्न नदिने निर्णय गरेको एमाले बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

No comments: