News

Jan 19, 2012

मूल्यवृद्धिको बिरोधमा आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ५ - सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरोधमा विभिन्न राजनीतिक दल निकट १३ विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेको छ । बिहीबार राजधानीमा बसेको संयुक्त बैठकले मूल्यवृद्धि फिर्ता लिन सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियूका अध्यक्ष माधव ढुंगेलले बताए । उनले मूल्यवृद्धि फिर्ता नगरिए सडक आन्दोलनको विकल्प नरहने उल्लेख गर्दै १० गते देशव्यापी मशाल जुलुश तथा ११ गते उपत्यका बन्दको कार्यक्रम तय गरिएको जानकारी दिए । यसैबीच मूल्यवृद्धिको बिरोधमा बिहीबार राजधानी काठमाडौं लगायत मुलुकको विभिन्न भागमा विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै चक्काजाम समेत गरेका छन् । राजधानीको विभिन्न क्याम्पसहरु अगाडि प्रदर्शन गरिएको छ । कान्तिपुरकर्मी मकर श्रेष्ठले जनाएअनुसार शंकरदेव क्याम्पसका विद्यार्थीहरुले पुतली सडकमा प्रदर्शन गरिरहेका छन् । उनीहरु सडकमै नाचगान तथा प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन अस्त व्यस्त भएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । त्यस्तै विभिन्न दल निकट युवा संगठनहरुले गठन गरेको संयुक्त युवा तथा तरुण आन्दोलन संयोजन समितिले पनि आन्दोल गर्ने घोषणा गरेको छ । नेपाल आयल निगमले बुधबार खाना पकाउने ग्यासमा प्रति सिलिण्डर १ सय ७५ रुपैयाँ,पेट्रोलमा प्रति लिटर १० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ९ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।

No comments: