News

Jan 25, 2012

सवा तेह्रसय किलोमिटर लामो विद्युतीय रेलमार्ग निर्माणको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ११ - पूर्वको मेचीदेखि पश्चिमको महाकाली जोड्नेसहित मुलुकमा सवा तेह्र सय किलोमिटर लामो विद्युतीय रेलमार्ग निर्माणको तयारी भएको छ । रेल्वे विभागले मुलुकको दुई आर्थिक वर्षको सिंगो बजेटबराबर सात खर्बभन्दा बढीको लागतमा महत्वाकांक्षी रेलमार्ग निर्माण गर्न सम्भाव्य अध्ययन गरी डीपीआर तयार पार्ने कार्य सुरु गरेको हो । डीपीआर तयार भएपछि सरकारले दाता मुलुक तथा निकायसित अनुदान तथा ऋण सहयोग लिई रेलमार्ग निर्माण सुरु गर्ने जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीले दिए । रेल्वे विभागका अधिकारीका अनुसार पूर्व-पश्चिम रेलमार्गका अतिरिक्त काठमाडौबाट प्रमुख पर्यटकीय सहर पोखरा जोड्ने रेलमार्गसमेत निर्माण योजना सरकारको छ । पूर्व-पश्चिम रेलमार्गलाई काठमाडौं-पोखरासित जोड्न नवलपरासीको ताम्सारियाबाट तनहुँको आँबुखैरेनीसम्म सम्पर्क रेलमार्ग निर्माण गरिने भएको छ । आँबुखैरेनी रेलमार्गबाट काठमाडौं, पोखरा र तराईलाई जोड्ने रेल्वे जंक्सन बन्ने जानकारी भौतिक योजनाका अधिकारीले दिए । नेपाल-भारतबीचको व्यापारलाई सहज बनाउन सरकारले पूर्व-पश्चिम रेलमार्गबाट भारतीय सीमा जोडिने वीरगन्ज, विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्ज, गुलरियालगायतका सबैजसो प्रमुख नेपाली सहरसम्म सम्पर्क रेलमार्गसमेत निर्माण गर्ने भएको छ । पूर्व-पश्चिम ९ सय ४५, पोखरा-काठमाडौं १ सय ८७, ताम्सारियाबाट आँबुखैरेनी ७२ किमी, भारतीय सीमा नाकासित जोडिने प्रमुख सहरहरूसित जोडिने सम्पर्क मार्ग १ सय १३ किमीसहित कुल रेलमार्गको लम्बाइ १ हजार ३ सय १७ किमी हुनेछ । यी रेलमार्ग निर्माण गर्न ७ खर्ब ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान सम्भाव्य अध्ययन गरेको परामर्शदाता भारतीय कम्पनी राइट्स इन्टरनेसनलको छ । पूर्व-पश्चिमसहित यी सबै ठाउँ रेलमार्ग निर्माण भइसकेपछि मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र ढुवानी तथा आउजाउ खर्चसमेत ठूलोमात्रा घट्ने जानकारी सरकारी अधिकारीले दिए । 'मुलुकको आर्थिक विकासका लागि यी रेलमार्ग कोसेढुंगा सावित हुनेछन्,' ती अधिकारीले भने ।

No comments: