News

Jun 17, 2008

तीन दल अझै विमतिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमति नभए सरकारबाट बाहिरिने माओवादीले समयसीमा तोकेको असार ४ आउन एक दिन बाँकी हुँदा पनि प्रमुख दलहरूबीच सहमति कायम हुन सकेको छैन। तीन दलीय कार्यदलले हल गर्न नसकेका सेना समायोजन, संवैधानिक परिषद् र सुरक्षापरिषद् गठनका विषयमा समाधान खोज्न सोमबार बसेको तीन दलका शीष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले यसअघि कार्यदलले सहमति गर्न नसकेका विषयमा थप गृहकार्य गरी सहमति कायम गर्न पुनः कार्यदललाई थप जिम्मेवारी दिएको छ।कार्यदलले दिएको प्रतिवेदनको आधारमा मंगलबार पुनः बैठक बस्ने जानकारी कांग्रेस महामन्त्री विमलेन्द्र निधीले दिनुभयो। बैठकमा माओवादी लडाकूलाई समूहगत रूपमा नेपाली सेनामा प्रवेश गराइनुपर्ने माओवादीको मागलाई एमाले र कांग्रेसले अस्वीकार गरेका थिए भने संवैधानिक परिषद्मा विपक्षी दलका नेता र सुरक्षापरिषद्मा प्रधानमन्त्रीले फरक-फरक दलका मन्त्रीलाई मनोनयन गर्नुपर्ने कांग्रेस र एमालेको प्रस्तावलाई माओवादीले अस्वीकार गरेको थियो।माओवादी सेनाको समायोजनको विषयमा भने बैठक सकारात्मक भएको एमाले नेता भीम रावलले जानकारी दिनुभयो। बृहत् शान्ति सम्झौता र राष्ट्रसंघीय मिसन (अन्मिन) को उपस्थितिमा भएको त्रिपक्षीय सहमतिलाई आधार बनाएर माओवादी सेनाको समायोजन गर्ने विषयमा सबै सकारात्मक भएको पनि रावलले जानकारी दिनुभयो। बैठकमा सत्ता बाँडफाँडका विषयमा भने कुनै छलफल भएको थिएन। सहमतिका अन्य आधारहरू तयार भएमा सत्ता बाँडफाँडको विषय सहज हुने कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले संवाददाताहरूलाई जानकारी दिनुभयो।सरकार गठन गर्नुपूव सहमतिको मस्यौदा तयार पार्न गठित तीनदलीय कार्यदलले आ-आफना दलका शीष नेताहरूलाई बुझाएको मस्यौदाका आधारमा शीष नेताहरूको बैठकमा छलफल भएको थियो। बैठकमा एमाले महासचिव झलनाथ खनाल अनुपस्थित हुनुहुन्थ्यो।बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, मोहन वैद्य, रामबहादुर थापा बादल’, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री निधि, प्रवक्ता अर्जुननरसिंह केसी र नेता डा. प्रकाशशरण महत र एमाले पूवमहासचिव माधवकुमार नेपाल, अमृतकुमार बोहरा, भीम रावल र अग्निप्रसाद खरेल हुनुहुन्थ्यो। राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया, माओवादी भ्रातृ संगठन वाईसीएललाई राजनीतिक संगठनको रूपमा परिमार्जन गर्ने, अन्तरिम संविधानमा संशोधन गर्ने, संविधानसभा निर्वाचनमा दलले पाएको मतका आधारमा शक्ति बाँडफाँड गर्नेलगायतका विषयमा सहमति गरेर मस्यौदा तयार पारेको तीनदलीय कार्यदलले द्वन्द्वकालमा माओवादीद्वारा कब्जा गरिएका घरजग्गा फिर्ता, माओवादी सेना समायोजन, हतियार व्यवस्थापन, सुरक्षापरिषद् गठन, संवैधानिक परिषद् गठनजस्ता विषयमा शीष नेतृत्वमा सहमति आवश्यक भएको प्रतिवेदन दिएको थियो। कार्यदलमा नेपाली कांग्रेसका डा. प्रकाशशरण महत र राधेश्याम अधिकारी, नेकपा (एमाले) का भीम रावल र अग्निप्रसाद खरेल तथा नेकपा (माओवादी) का देवप्रसाद गुरुङ र खिमलाल देवकोटा रहनुभएको छ।

No comments: