News

Jun 28, 2008

'एमालेलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी र एमालेबीच प्रधानमन्त्री र राष्ट्रपति बाँडफाँड गर्ने सहमति भएको चर्चा चलिरहेको बेला एमाले नेता केपी ओलीले माओवादीले एमालेलाई राष्ट्रपति दिने प्रस्ताव नगरेको बताएका छन् । एमाले स्थायी समिति सदस्य केपी ओलीले आफ्नो पार्टीलाई राष्ट्रपति दिने भनेर माओवादीले अहिलेसम्म प्रस्ताव नराखेको बताएका छन् । पार्टीका दिवंगत नेता मदन भण्डारीको स्मृतिमा असार १४ गते राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माओवादीले अहिलेसम्मका दुई पक्षीय वार्तामा ब्यक्तिबारे मात्र प्रस्ताव ल्याएको र त्यसो गर्न उसले नपाउने उल्लेख गरे । 'हाम्रो पार्टीबाट कसलाई राष्ट्रपति बनाउने भनेर हामीले निर्णय गर्ने हो, माओवादीलाई निर्णय गर्ने अधिकार छैन' ओलीले भने । एमाले नेता ओलीले कार्यक्रममा राष्ट्रपति नपाउने निश्चय हुनासाथ प्रतिपक्षमा बस्छु भनेर घुर्की लाउने तथा सहमतिको राजनीतिबाट पछि हट्ने नेपाली कांग्रेसको तरिका पनि ठिक नभएको बताए । कथित बामको नाममा माओवादीले र कथित लोकतान्त्रिकको नाममा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा ध्रुविकरण गर्न खोजेको धारणा राख्दै ओलीले एमालेले सहमतिको प्रयास गर्नुपर्ने बिचार राखे । 'लोकतन्त्रको हिसाबले कांग्रेस नजिक भए पनि उसलाई यथास्थितिबादबाट बाहिर निकाल्नु छ भने माओवादीको उग्रबामपन्थ चुनौतीपूर्ण छ' ओलीले भने । प्रधानमन्त्री तथा राष्ट्रपतिका लागि दावी गर्न सक्ने भए पनि आफ्नो पार्टीले अझै सबै दलबीच सहमति खोजीरहेको पनि ओलीले कार्यक्रममा बताए ।

No comments: