News

Jun 27, 2008

अनेसास हङकङ च्याप्टर पुनर्गठन

लिम्वूवान डट व्लगस्पोट डटकम, हङकङ
हङकङ, जुन २६ -अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) हङकङको जुन २६ तारिख विहीवार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा बसेको भेलाले च्याप्टरलाई
पुनर्गठन गरेको छ। अनेसास हङकङको निवर्तमान अध्यक्ष तथा अनेसास केन्द्रीय सचिव पशन तमूको अध्यक्षतामा बसेको भेलाले मोती चाम्लिङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। भेलाले कार्यसमितिको अध्यक्षमा मोती चाम्लिङ, उपाध्यक्षमा कमल पौडेल, महासचिवमा टंक सम्बाहाम्फे, सचिवमा लक्ष्मी थापा राई (लारा) र कोषाध्यक्षमा प्रकाश केसीलाई अनेसास हङकङको मूल बडीमा सर्वसम्मत चयन गरिएको छ। त्यसै गरी कार्यसमितिको पुरुष सदस्यहरुमा जितने राई, मदन जबेगु, सुरेन लिम्बू, रोहित शाही, प्रतीक चाम्लिङ, राजेन्द्रकुमार थापा, जगत अम्बु गुरुङलाई चयन गरिएको छ भने महिला सदस्यहरुमा आशा विदीर्ण राई, केवल गंगा गुरुङ र रुपा पुनलाई चयन गरिएको छ।
भेलाले हङकङ च्याप्टरका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सचिव पशन तमूलाई प्रमुख सल्लाहकारका रुपमा चयन गरिएको छ भने वरिष्ठ संगीतकार दिनेश सुब्बा र उपन्यासकार तथा भयवादका प्रवर्तक देश सुब्बालाई भेलाले स-सम्मान सल्लाहकारमा चयन गरेको छ। समाजलाई उत्साहजनक ढंगले निर्वाध अगाडि बढाउन साहित्यकारवाहेक साहित्यानुरागी, शिक्षाविद, समाजसेवी र व्यवसायीहरुलाई समेत समेटिने भेलाको निर्णय बमोजिम कार्यसमितिमा चयन गरिएको छ।
अनेसासले भेलाबाट साहित्यिक गतिविधिहरु कविता यात्रा, कवि गोष्ठी तथा 'अन्तर्दृष्टि' प्रकाशन गर्नु पर्ने सुझाब तथा प्रस्तावहरु संकलन गरेको छ। समाजको पहिलो बैठकमा ती प्रस्तावहरुको निर्णय र कार्यान्वयनको औपचारिक घोषणा गरिने भएको छ। अनेसास हङकङका संस्थापक तथा वर्तमान महासचिव टंक सम्बाहाम्फेद्वारा पुनर्गठित समाजको नामावली वाचनपछि अनेसासका केन्द्रीय सचिव पशन तमूले नवनिर्वाचित सदस्य परिवारलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना मन्तव्य दिंदै अनेसास केन्द्रको मूल नारा र अभियानअनुरुप च्याप्टर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे। केन्द्रीय सचिव तमूले हङकङका साहित्यिक स्रष्टाहरुका विचार र भावनाहरु हङकङ र हङकङ बाहिर पनि विस्तारित हुनु पर्ने जनाउंदै नेपाली भाषा, साहित्य र कलाका लागि विदेशमा छरिएका नेपाली साहित्यकार तथा साहित्यिक संघसंस्थाहरुसंग सहकार्य बढाउनु पर्ने बताए। तमुले हङकङका साहित्यिक संस्थाहरुसंग सहकार्य र सहयोगको आदानप्रदान जारी राख्नु पर्ने बताए।
नवनिर्वाचित अध्यक्ष मोती चाम्लिङले अनेसासको महत्व र औचित्यबारे जानकारी दिंदै आफूले पाएको जिम्मेवारीलाई ईमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जाहेर
गरे। अध्यक्ष चाम्लिङले अब अनेसास हङकङ सशक्त ढंगले अगाडि बढ्छ भन्दै नवनिर्वाचित कार्यसमितिका साथीहरुबाट त्यसै अनुरुप सहयोगको अपेक्षा आफूले राखेको बताए। हङकङको नेपाली साहित्य र रंगमञ्चका सशक्त नारी प्रतिनिधि तथा नवनिर्वाचित सचिव लाराले अनेसास हङकङमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन्।तस्विरः जगत अम्बु गुरुङ।

No comments: