News

Jun 13, 2008

माओवादी सेना समायोजन बिबाद यथावत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी सेना समायोजन तथा त्यसको तरिकाबारे प्रमुख दलहरुबीच बिबाद यथावत रहेको प्रमुख दलका नेताहरुको भनाइले स्पष्ट पारेको छ । दलहरुबीच राजनीतिक सहमति नबनिरहको बेला माओवादी सेना समायोजन उनीहरुबीच मुख्य बिबाद रहेको पुन खुलाशा भएको छ । राजधानीमा रिपोर्टस क्लबले जेठ ३१ गते आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा माओवादी नेताले आफनो सेना नेपाल सेना बराबरकै भएकाले सेना समायोजन हुँदा ब्यक्तिगतभन्दा समूहगत आधारमा ब्यवहार हुनुपर्ने बताए भने नेपाली कांग्रेस र एमाले नेताहरुले ब्यक्तिगत योग्यताको आधारमा माओवादी सेनालाई समायोजन गर्नुपर्ने धारणा राखे । माओवादी सचिवालय सदस्य वर्षामान पुन अनन्तले सरकार र माओवादीबीचको शान्ति सम्झौतामा दुवै सेनालाई बराबर भनिएकाले त्यही अनुसार ब्यवहार हुनुपर्ने बताए । राष्ट्रिय सेनालाई लोकतान्त्रिकरण गरिनुपर्ने पनि अनन्तको भनाइ थियो । ब्यक्तिगत मापदण्ड माओवादी सेनालाई मात्र लागु नहुने उल्लेख गर्दै कार्यक्रममा अनन्तले राष्ट्रिय सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीमा पनि मापदण्ड नपुगेका कयौं रहेको दावी गरे । राष्ट्रिय सेनामा माओवादी सेनालाई नमिसाइने हो भने सेना, जनपद, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभाग जस्तै माओवादी सेनालाई कुनै नाउँमा पाँचौ बल बनाउन सकिने उनको भनाइ थियो । कार्यक्रममा अनन्तले माओवादीबिरुद्ध लड्न गठन गरिएको सशस्त्र प्रहरी बिघटन गर्नुपर्ने माग गरे । कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेस नेता डा. प्रकाशशरण महतले गणतन्त्र कार्यन्वयनमा सहयोग गरेकाले नेपाली सेनाको लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक्ता अब नरहेको धारणा राखे । राष्ट्रिय सेनामा समूहगत प्रवेश सम्भव नरहेको उल्लेख गर्दै महतले योग्यता पुगेका माओवादी सेनालाई मात्र समायोजन गर्न सकिने आफ्नो पार्टीको धारणा दोहोर्‍याए । माओवादीको सरकार गठन हुनअघि नै सेना समायोजनबारे टुङ्गो लाग्नुपर्ने तथा माओवादी सेनाको हतियार सरकारलाई बुझाउनुपर्ने उनले बताए । माओवादी सेनालाई समायोजन गर्नुअघि ब्यक्तिगतरुपमा बिदेश जाने, अध्ययन गर्ने तथा समाजमा पुनर्स्थापित हुने बिकल्प दिनुपर्ने पनि महतको धारणा थियो । एमाले केन्द्रीय सदस्य भीम रावलले संविधानसभा चुनाव अघि नै सेना समायोजनको मुद्धा टुङो लगाउनुपर्ने धारणा आफ्नो पार्टीले राखेको स्मरण गराए । संविधानसभा चुनावपछि माओवादी बिद्रोहीका रुपमा नरहेकाले सरकार गठन अघि नै दुई सेना रहनुनहुने उनको भनाइ थियो । एमाले नेता रावलले पनि कांग्रेस नेताले जस्तै सेनामा समूहगत प्रवेश हुनुनहुने तथा ब्यक्तिगतरुपमा सेना प्रवेशको मापदण्ड पूरा गर्नुपर्ने बताए । सरकार गठन अघि नै माओवादी सेना र उसका हतियारको टुङ्गो लाग्नुपर्ने पनि उनको भनाइ थियो । माओवादी सेनालाई ब्यक्तिगतरुपमा बिदेशमा जाने, अध्ययन गर्ने तथा समाजमा पुनर्स्थापन हुने बिकल्प दिनुपर्ने रावलले पनि बताए । कार्यक्रमका अर्का वक्ता सैन्यविद इन्द्रजित राईले माओवादी सेनाको समायोजन संविधानसभा चुनावअघि नै गरेको भए उपयुक्त हुने थियो भने । समायोजन अघि माओवादी सेनालाई भविष्यमा के गर्नेबारे ब्यक्तिगत बिकल्प दिनुपर्ने उनको पनि धारणा थियो ।

No comments: