News

Sep 23, 2009

नेपाली नोट मागअनुसार दिन नसकेपछि भारतीय रुपैयाँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ७- राष्ट्र बैंकले नेपाली नोट मागअनुसार दिन नसकेपछि भारतीय रुपैयाँ (भारु) बजारमा पठाएको छ। नोट अभाव टार्न वाणिज्य बैंकलाई राष्ट्र बैंकले भारु दिएको हो।यहीअनुसार अधिकांश बैंकले राष्ट्र बैंकबाट भारु ल्याएर बचतकर्तालाई भुक्तानी दिएका छन्। 'नेपाल बैंकर्स संघका पदाधिकारीलाई मंगलबार २/२ करोड नेरु र आवश्यकताअनुसार यति नै रकम बराबरको भारु दिएको हो,' संघका अध्यक्ष शसिन जोशीले भने। वाणिज्य बैंक अधिकारीले व्यक्ति र आवश्यकता हेरेर भारुमा भुक्तानी दिइएको जानकारी दिए। नोट अभावले तराई क्षेत्रमा केही दिनदेखि भारुको प्रचलन बढेको थियो। २०१३ सालमा राष्ट्र बैंक स्थापनाको मुख्य उद्देश्य भारुको सट्टा नेपाली रुपैयाँ प्रचलनमा ल्याउनु थियो। यो नीतिविपरीत राष्ट्र बैंकले भारु प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको उद्देश्यविपरीत भारु प्रचलनमा ल्याउनु राष्ट्र बैंकको गम्भीर त्रुटि भएको वाणिज्य बैंक अधिकारीहरूले बताए। यसले मुलुकभर भारुको प्रचलन अझै बढाउने छ।
राष्ट्र बैंकले केही वर्षअघि गरेको अध्ययनले करिब ४० प्रतिशत भारु प्रचलनमा रहेको देखाएको थियो। यो अझ बढेको अनुमान छ। यसलाई बढाउने गरी राष्ट्र बैंकले वाणिज्य बैंकलाई भारु दिएको हो। कागजी रूपमा प्रक्रिया पुर्‍याएर वाणिज्य बैंकलाई भारु दिइएको छ। भारु माग्दा वाणिज्य बैंकले विगतमा जस्तै निवेदन दिएका छन्। वाणिज्य बैंकले ग्राहकलाई दिँदा पनि भारु आवश्यक भएको निवेदन लिएका छन्।राष्ट्र बैंकले पर्याप्त उपलब्ध गराउन नसक्दा देशभर नोटको व्यापक अभाव भएको छ। वित्तीय संस्थाहरू ग्राहकले मागेअनुसार बचत फिर्ता दिन नसक्ने अवस्थामा पुगेका छन्। काठमाडौमा अधिकांश बैंक र एटिएममा दसैं विदा सुरु हुनुभन्दा तीन दिनअघि मंगलबार पैसा लिनेको घुइँचो लागेको थियो। नोट अभावले एटिएम सबैभन्दा बढी प्रभावित भएका छन्।बाग्लुङमा तलब भुक्तानी नपाउँदा आक्रोशित शिक्षकले नेपाल बैंकको दैनिक कारोबारमा अवरोध गरे। यो बैंकको बाग्लुङ शाखाले पाँच हजारमात्र भुक्तानी दिएको थियो। झापाको बिर्तामोडमा नोट नपाएको आरोपमा शिक्षकले कर्मचारी थुनिदिएका थिए। तनहुँको दमौलीमा पनि शिक्षकले नोट नदिए सडकमा उत्रिने धम्की दिएका छन्। म्याग्दीको नेपाल बैंकले एक सातादेखि पैसा दिएको छैन। पर्वतमा पनि शिक्षकले तलब पाएनन्। पर्वतमा मात्र शिक्षकले तलबबापत ११ करोड ५० लाख पाउनु पर्ने थियो। दाङमा पनि बैंकमा नोट माग्नेको ठूलो लाइन छ।
नोट अभावले शिक्षक, पेन्सन लिने, रेमिट्यान्स प्राप्त गर्ने र कम्पनीहरू प्रभावित छन्। शिक्षकलाई दसैंखर्चसहित चार महिनाको एकैपटक तलब दिने गरिन्छ। उद्योग व्यवसाय पनि नोट अभावबाट प्रभावित छन्। नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकमा पनि सोमबार केही व्यवसायीले यो समस्या उठाएका थिए। पोखराका व्यवसायी निरञ्जन श्रेष्ठले कर्मचारीको तलब र दसैंखर्च दिने पैसा नभएको बताए। 'बैंकले पैसा दिन नसक्ने जवाफ दिएकाले समस्या परेको छ,' उनले भने। उपत्यकाका निजी विद्यालयले समेत नोटको अभावमा शिक्षक, कर्मचारीलाई तलब दिन सकेनन्। विदाको एक/दुई दिनअघि तलब दिने योजना बनाएका निजी विद्यालयले नोट नपाएपछि तलब दिन नसकेका हुन्।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्र बैंकलाई छिटोभन्दा छिटो नोट समस्या समाधान गर्न निर्देशन दिएका छन्। 'यो समस्याप्रति सरकार गम्भीर छ,' अर्थमन्त्री पाण्डेले मंगलबार नागरिकसँग भने, 'मैले जहाँ पैसा छ, त्यहाँबाट लिई हेलिकप्टरबाट भए पनि अभाव भएको ठाउँमा पुर्‍याउन भनेको छु।' राष्ट्र बैंकले आइतबारदेखि नोट अभाव हट्ने जानकारी दिएको थियो। तर, मंगलबारसम्म पनि वाणिज्य बैंक तथा वित्तीय संस्थाले माग गरेभन्दा एक तिहाइ कममात्र नोट पाएका छन्। बैंकर्स संघका प्रतिनिधिले मंगलबार राष्ट्र बैंकमा गई नोटको आपूर्ति बढाउन दबाब दिएका थिए। नोट दिन नसके बैंकहरू केही दिन बन्द गर्ने निर्देशन जारी गर्न उनीहरूले राष्ट्र बैंकसँग आग्रह गरेका थिए। यो दबाबपछि राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई करिब २-२ करोड रुपैयाँका दरले रकम दिएको थियो। बैंकहरूले ६-६ करोडका दरले नोट दिन माग गरेका थिए। 'कम्तीमा ६ करोड दिएमात्र हाम्रो एटिएम पूरा चल्न सक्छ,' बैंक अधिकारीले भने। बैंक तथा वित्तीय संस्थाका झण्डै ७ सय एटिएम सञ्चालनमा छन्। मंगलबार विकास बैंकलाई ५० लाख र फाइनान्स कम्पनीलाई २५ लाखका दरले राष्ट्र बैंकले नोट दियो। मंगलबार बैंक खुलेलगत्तै नोट नहुँदा ग्राहकलाई भुक्तानी दिन समस्या परेको संघका अध्यक्ष जोशीले बताए। 'दिउँसो नोट आएपछि समस्या केही कम भयो,' उनले भने। बुधबार काठमाडौंबाहिर जम्मा भएको नगद केन्द्रमा ल्याउने योजना बैंकहरूले बनाएका छन्। नबिल बैंकले पर्याप्त नोट नहुँदा मंगलबार एटिएमबाट एक पटकमा ३ हजार ५ सयमात्र झिक्नसक्ने बनाएको छ। सोमबारसम्म यो बैंकले १० हजार रुपैयाँ भुक्तानी दिने सूचना टाँसेको थियो। यो बैंकको केन्द्रीय कार्यालयमा भएका दुई एटिएममध्ये एउटा बिग्रेको थियो र अर्कोमा लामो लाइन थियो। जावलाखेलमा डेढ घन्टा एटिएममा लाइन बसे पनि पैसा नपाएपछि केन्द्रीय कार्यालय आएको एक महिलाले बताइन्। स्टान्डर्ड चार्टर्ड बैंकले पनि ५० हजारभन्दा बढी भुक्तानी दिन नसक्ने जानकारी ग्राहकलाई दिएको थियो। अन्य बैंकहरूले पनि एटिएम र चेकको सीमा तल झारेका छन्। कतिपय बैंकहरूले ठूलो रकमको भुक्तानी पूर्ण बन्द गरेका छन्। नोट नहुँदा बजारसमेत प्रभावित छ। बजारमा वस्तु तथा सेवाका ग्राहक घटेको व्यापारीले बताए। 'राष्ट्र बैंकबाट मागअनुसार नोट नदिँदा बचतकर्तालाई भुक्तानी दिन नसकेका हौं,' सिटिजन्स इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारीले भने। दसैंअघि सामान्यभन्दा करिब १० अर्ब रुपैयाँबराबरको थप नोट माग हुन्छ। तर, समयमा ठूला दरका नोट ल्याउन नसक्दा चरम अभाव भएको हो। राष्ट्र बैंकले नोटको अभावबारे कुनै औपचारिक जानकारी दिएको छैन। अभाव हटाउन वैकल्पिक उपायबारे पनि राष्ट्र बैंकले कुनै सूचना दिएको छैन। राष्ट्र बैंकले सर्वसाधारणको समस्या बेवास्ता गरेको भन्दै ग्राहकहरूले आक्रोस व्यक्त गरेका छन्। वाणिज्य बैंकहरूले पनि भुक्तानी दिन नसक्दा ग्राहकको आक्रोस खेप्नु परेको छ। गत साता ४ अर्ब ५ करोड रुपैयाँ बराबरको पाँच सय दरका नयाँ नोट राष्ट्र बैंक आइपुगेको थियो। पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको हस्ताक्षर भएका यी नोटले पनि अभाव हटाउन सकेको छैन। मंगलबारसम्म ३ अर्बभन्दा बढी नयाँ नोट चल्तीमा गइसकेको राष्ट्र बैंक अधिकारीले जानकारी दिए। थप नोट दसैं विदापछि असोज तेस्रो साता मात्र आइपुग्नेछन्। एक वर्षयता नोटको समस्या आएको थियो। गत फागुनमा प्रचलनमा गएको नोट फर्किने चक्रमा समस्या आएपछि संकट सुरु भएको हो। ठूला नोट नहुँदा साना दरका नोट दिन थालिएको थियो। पाँच सयका नोट छाप्ने जिम्मेवारी पाएको फ्रान्सको कम्पनीले समयमा नदिँदा अहिले समस्या बढेको हो। उक्त कम्पनीलाई राष्ट्र बैंकले जरिवाना तिराएको छ।

No comments: