News

Sep 24, 2009

माओवादीसंग वार्ता गर्न सात सदस्यीय वार्ता समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटीको बैठकले विभिन्न राजनीतिक पार्टीहरूसँग वार्ता गर्नका लागि भरतमोहन अधिकारीको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ ।यो समितिले प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी)सहित व्यवस्थापिका-संसद्मा क्रियाशील दलहरूसँग छलफल गरी संसद्को गतिरोध अन्त्यका लागि पहल गर्नेछ ।पार्टीको केन्द्रीय कार्यालय मदननगर बल्खुमा अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको बुधबारको बैठकले वार्ता कमिटीको सदस्यहरूमा युवराज ज्ञवाली, केशव बडाल, प्रदीप ज्ञवाली, रामचन्द्र झा, उर्मिला अर्याल र परशु मेघी गुरुङलाई तोकेको छ ।यसैगरी, बैठकले नेपाली समाजको वर्ग-विश्लेषणका लागि केशव बडाल संयोजक रहनुभएको कार्यदल गठन गरेको जानकारी केन्द्रीय कार्यालय सचिव युवराज ज्ञवालीले दिनुभयो ।कार्यदलका सदस्यहरूमा नागेन्द्र चौधरी, सत्यनारायण मण्डल, हेमराज राई, पुरुषोत्तम पौडेल, केशवलाल श्रेष्ठ, उमेश उपाध्याय, डा. प्रभा हमाल, डा. गणेश गुरुङ, डा. जीवन प्रसाईं र हरिबहादुर तामाङ हुनुहुन्छ ।विगत वर्षहरूमा जस्तै नेकपा (एमाले)ले यसवर्षको बडादसैँको उपलक्ष्यमा शुभकामना आदान-प्रदान गर्न असोज १८ गतेको दिन तय गरेको छ ।पार्टी अध्यक्ष खनालको आमन्त्रणमा पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा हुने चियापान तथा शुभकामना आदान-प्रदानको तयारीबारे बैठकमा जानकारी गराइएको थियो ।सचिव ज्ञवालीका अनुसार यही सेप्टेम्बर २४, २५ र २६ गते काजकिस्तानको राजधानी आस्तानमा हुने एसियाली राजनीतिक पार्टीहरूको सम्मेलनमा भाग लिन पार्टी अध्यक्ष खनाल त्यसतर्फ जानुहुने बैठकले निर्णय गर्‍यो ।

No comments: