News

Sep 19, 2009

मधेसवादी दलहरूले उपराज्य सहितको मधेस प्रदेशको अवधारणा अघि सारे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ४ - 'समग्र मधेस एक प्रदेश' को चौतर्फी विरोध भएपछि मधेसवादी दलहरूले उपराज्य सहितको मधेस प्रदेशको अवधारणा अघि सारेका छन् । तर मधेस प्रदेशभित्र कस्तो र कति उपराज्य हुनेबारे स्पष्ट हुन सकेका छैनन् । मधेसी जनअधिकार फोरम- बाहेक फोरम (लोकतान्त्रिक), सद्भावनालगायतका दलले उपराज्यसहितको मधेस प्रदेशको अवधारणा संविधानसभाको राज्य पुनर्संरचना समितिमा प्रस्तुत गरेका छन् । फोरमले स्थानीय स्वायत्त इलाकालाई उपराज्यमा विकसित गर्दै लैजाने बताए पनि स्पष्ट खाका तय गरिसकेको छैन ।तमलोपाले भने आठबुँदे सम्झौताअनुरूप 'उपराज्यसहितको स्वायत्त मधेस प्रदेश' मागेको जनाए पनि उपराज्यबारे निष्कर्षमा पुगी नसकेको बताएको छ ।'हामीले भाषाका आधारमा पाँच उपराज्य हुनुपर्ने सुझाव दिएका छौं,' सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने, 'तर सबैलाई सर्वमान्य हुने गरी हामी एउटा निचोडमा पुग्छौं ।' मधेसवादी दलहरूले उठाउँदै आएको एक मधेस एक प्रदेशको नारा अमान्य हुने जनाउँदै पश्चिम र पूर्वका थारूहरूले पटकपटक आन्दोलन गरिसकेकाले यो विवादित भएको हो । 'क्षेत्रीयताका आधारमा प्रदेश निर्माण गर्न समिति सहमत भएको छ,' फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताले भने, 'हामीले त्यही आधारमा समग्र मधेस एक प्रदेशको अवधारणलाई अघि सारेका हौं ।'स्थानीयस्तरमा रहेको जनघनत्व, भाषा, भौगोलिक सुगमता आधारमा स्थानीय स्वायत्त इलाकाहरू बनाउन सकिने र तिनलाई पछि उपराज्यको संज्ञा दिँदा हुने उनले बताए । 'हामीले ५२ पृष्ठ लामो अवधारणा समितिमा बुझाइसकेका छौं,' उनले भने । भौगोलिक सुगमता, भाषा र संस्कृति, जनघनत्व र प्राकृतिक स्रोतसाधनको अवस्था, सामाजिक, आर्थिक अवस्थालगायत आधारमा प्रदेशहरू छुट्याइनुपर्ने फोरमको सुझाव छ । त्यसमा उपराज्यबारे स्पष्ट उल्लेख छैन । फोरम (लोकतान्त्रिक) ले समेत त्यसको स्पष्ट खाका तय गरिसकेको छैन । फोरम (लोकतान्त्रिक) का सर्वदेव ओझाले समितिमा हालै मात्र व्यक्तिगत रूपमा ५ उपराज्य सहितको समग्र मधेस एक प्रदेश हुनुपर्ने सुझाव दिएका छन् । पार्टीले सभासद रामजनम चौधरीलाई त्यसको औपचारिक जिम्मा दिएको छ ।'जनमत संकलनपछि राज्य पुनर्संरचना समितिले तयार पारेको अवधारणामै हामीले असहमति जनाइसकेका छौं,' तमलोपाका नेता महेन्द्र यादवले भने, हामी पनि उपराज्यबारे सोचिरहेका छौं । तर पार्टीले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।'

No comments: