News

Sep 12, 2009

अर्थमन्त्रीमाथि माओवादी कार्यकर्ताले ढुंगा प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २७ - अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि माओवादी कार्यकर्ताले शनिबार पोखरामा ढुंगा प्रहार गरेका छन्। ढुंगा प्रहारबाट मन्त्री सवार ग.१ झ १ नम्बरको गाडी र स्कर्टिङमा खटिएको प्रहरीको गाडीमा क्षति पुगेको छ। मन्त्री पाण्डे भने ढुंगा लाग्नबाट जोगिए। शनिबारबाट प्रकाशन सुरु भएको 'गोल्डेन न्यूज' दैनिक पत्रिकाको विमोचन गर्न जाने क्रममा अपरान्ह २ बजेतिर माओवादी कार्यकर्ताले मन्त्री सवार गाडीमाथि ढुंगा प्रहार गरेका हुन्। दर्जनौं माओवादी कार्यकर्ताले नाराबाजीसहित ढुंगा प्रहार गरेपछि अर्थमन्त्री पाण्डे निर्धारित कार्यक्रममा सहभागी नभई सोझै विमानस्थल पुगेर राजधानी फर्किए।उद्योग वाणिज्य संघको कार्यक्रमबाट निस्केर सुनौलो पब्लिकेसनको पत्रिका विमोचन गर्न चिप्लेढुंगा पुगेलगत्तै मन्त्रीविरुद्ध ढुंगा प्रहार भएको थियो। माओवादीले प्रहार गरेको ढुंगा गाडीभित्र छिरे पनि मन्त्रीलाई नलागेको सुरक्षाकर्मीले जानकारी दिए।'मन्त्रीको गाडी आईपुग्ने बित्तिकै म ढोका खोल्न अगाडी बढेको थिएँ' मन्त्रीलाई प्रमुख अतिथिका रुपमा निम्त्याएका सुनौलो प्रकाशनका अध्यक्ष गंगाधर पराजुलीले भने- 'त्यतिबेलै माओवादी कार्यकर्ताले नाराबाजी र ढुंगामुढा गर्दै मन्त्रीको गाडीमा मुक्का हान्न थाले। मन्त्री ओर्लिनै नपाई त्यतैबाट हिडिहाल्नुभयो।'प्रहरी निरीक्षक रवीन्द्र गुरुङको कमाण्डमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बाबजुद माओवादीले मन्त्रीमाथि ढुंगा हानेका थिए। सुरक्षास्रोतकाअनुसार ३५ जनाभन्दा बढी सुरक्षाकर्मी सम्भावित घटनालाई हुन नदिन तीन घण्टा अघिदेखि चिप्लेढुंगा क्षेत्रमा खटिएका थिए। 'मन्त्रीमाथि जाईलाग्ने माओवादीप्रति प्रहरीले बलपूर्वक रोक्ने कुनै प्रयास गरेको देखिएन' एक प्रत्यक्षदर्शीले भने। माओवादीको निशानामा परेपछि पत्रिकाको विमोचन नगरी सोझै विमानस्थल पुगेका अर्थमन्त्री पाण्डेले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कमजोर सुरक्षा अवस्था र आफुमाथिको घटनाबारे केन्द्रमा कुरा उठाउने बताए। 'सुरक्षा कमजोरीले यस्तो (आफुमाथि आक्रमणको) घटना भएको हो' जिल्लाको सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुन नसकेका मन्त्री पाण्डेले भने- 'यसबारे मन्त्रिरिषद्, सुरक्षा निकायका प्रमुख व्यक्ति र पार्टीको उच्च तहमा कुरा राख्नेछु।'उनले आफ्नो सवारीमाथि ढुंगा प्रहार हुँदा समेत चुस्त सुरक्षा व्यवस्था मिलाउन नसक्ने अधिकारीमाथि कारबाहीको संकेत समेत गरेका छन्। माओवादीले नागरिक सर्वोच्चका लागि जारी राखेको आन्दोलनका क्रममा राष्ट्रपतिदेखि सिंगो मन्त्रिपरषद्का सदस्यको कार्यक्रम बहिष्कार तथा कालोझण्डा देखाउने कार्यक्रमअन्तर्गत मन्त्री पाण्डेविरुद्ध आक्रमण गरेका थिए।एकसाता अघि मात्र पोखरामा सम्पन्न सुरक्षा सम्बन्धि क्षेत्रीय सम्मेलनमा गृहमन्त्री भीम रावलले सुरक्षा व्यवस्था कडा पारिएको दावी गर्दै अराजक गतिविधि गर्ने जोकोहीमाथि तुरुन्तै कारबाही हुने बताएका थिए। प्रधानमन्त्री र गृहमन्त्रीकै दलका नेता समेत रहेका वरियताक्रममा तेस्रो स्थानका अर्थमन्त्रीमाथि आक्रमण गर्ने माओवादी कार्यकर्तामाथि प्रहरीले कुनै कदम चालेको छैन।यसअघि शनिबार बिहान नयाँ बजारमा प्रदर्शनी कक्षको शिलान्यास गर्ने क्रममा पनि माओवादी आक्रमण हुन सक्ने भएकाले सिमित पत्रकार र व्यक्तिलाई मात्र खबर गरिएको थियो। 'मन्त्रीविरुद्ध माओवादीले कालोझण्डा देखाउने तथा ढुंगा प्रहारसमेत गर्नसक्ने देखेर धेरैलाई खबर नगरेका हौं' आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी माकाजुले भने।केही दिनअघि स्याङ्जा पुगेका सञ्चारमन्त्री शंकर पोखरेलमाथि पनि माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए। सो क्रममा डिएसपी सहित ३ प्रहरी र ५ माओवादी कार्यकर्ता घाइते भएका थिए।

No comments: