News

Sep 26, 2009

नेपाल राष्ट्रसङ्घीय बोर्डमा सर्वसम्मतिले मनोनित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १०- व्यापार र विकास सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (अङ्टाड) को जेनेभास्थित सल्लाहकार समितिको सदस्यमा नेपाल सर्वसम्मतिले चुनिएको छ। राष्ट्रसङ्घको जेनेभास्थित कार्यालयको नेपाली स्थायी नियोगका अनुसार राजदूतस्तरमा गठित तीन सदस्यीय समितिमा नेपालका तर्फबाट राजदूत डा. दिनेश भट्टराई, ओमानका तर्फबाट याह्या अल-वहाइबी र पाकिस्तानका जमीर अक्रम रहेका छन्।
उक्त छनौटले व्यापार अभिबृद्धिका क्षेत्रमा नेपालजस्ता अति गरिब राष्ट्रको हितलाई राष्ट्रसङ्घको माथिल्लो निकायमा पु-याउन महत्वपूर्ण योगदान पुग्ने स्थायी नियोगको विज्ञप्तीमा उल्लेख छ।यसैगरी, विश्व व्यापार संगठन अन्तर्गतको अतिकम विकसित राष्ट्रको तर्फबाट व्यापारका निम्ति सहयोग समूहमा समेत नेपाललाई फोकल विन्दुको रूपमा सर्वसम्मतिले छनौट गरिएको छ।विश्व व्यापार संगठन अन्तर्गत अतिकम विकसित राष्ट्रको समूह धेरैवटा आधिकारिक समूहमध्ये एक हो। यी समूहले अतिकम विकसित समूहको चासो र हितका सवालमा आवश्यक सुझाव प्रस्तुत गर्दछन्। यस समूह अन्तर्गत हाल १२ वटा फोकल विन्दु छन्। व्यापारका निम्ति सहायता फोकल विन्दुको प्रतिनिधित्व नेपालले गरेकोले यस क्षेत्रसँग आबद्ध सूचना प्राप्त गर्न, विश्लेषण गर्न र मध्यस्थता गर्न सहयोग पुग्ने राष्ट्रसङ्घको जेनेभास्थित कार्यालयको नेपाली स्थायी नियोगले जनाएको छ।

No comments: