News

Sep 25, 2009

कांग्रेस, एमाले र माओवादीबीच टेलिफोन वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ प्रमुख घटक कांग्रेस, एमाले र प्रमुख प्रतिपक्षी एकीकृत माओवादीबीच बिहीबार टेलिफोन वार्ता भएको छ । शीर्षनेताबीचको वार्ता सहमतिनजिक पुगेको नेताहरूले दाबी गरेका छन् । वार्तापछि उत्साहित हुँदै नेताहरूले दसैँ समापनसँगै गतिरोध पनि सकिएर नयाँ सहमति बन्ने विश्वास व्यक्त गरेका छन् । 'हेलो नेपाल' नयाँ मोबाइल कम्पनीको उद्घाटन गर्न रोल्पा पुगेका एकीकृत माओवादी अध्यक्ष प्रचण्डसित कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले काठमाडौंबाट र एमाले महासचिव ईश्वर पोखरेलले दाङबाट कन्फरेन्स कलमार्फत मोबाइलवार्ता गरेका छन् । वार्तामा दसैँअघि नै सहमतिबाट राजनीतिक निकास निकाल्ने सहमति भएको स्रोतको दाबी छ । दाङमा आयोजित एक कार्यक्रममा माओवादीका एक वरिष्ठ नेताले राजनीतिक सहमतिको ढोका खुलेको दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ, दाङले बिहीबार अपराह्न घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा एकीकृत माओवादीका पोलिटब्युरो सदस्य कृष्णबहादुर महराले दलहरूबीच सहमतिको वातावरण बनेको खुलासा गरेका छन् । 'ठूला तीन दलका नेताबीच छलफल र बहस भइरहेको छ, बिहीबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव ईश्वर पोखरेलबीच टेलिफोन वार्ता भएको छ,' उनले थपे, 'यो शुभ संकेत हो, यसले सहमतिको ढोका खोलेको छ, अब छिट्टै सहमति हुन्छ ।' असहमतिको राजनीतिक गाँठो फुक्न नसक्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको बताउँदै नेता महराले आफ्नो दल राजनीतिक सहमतिका लागि तत्पर रहेको बताए । उनले दसैँलगत्तै राजनीतिक सहमति हुने र गतिरोध अन्त्य हुने बताए । यसका लागि दलहरूबीच संवाद घनीभूत भइरहेको उनको भनाइ थियो । सञ्चारकर्मीको जिज्ञासामा पछिल्लो समयमा सहमतिको लागि सकारात्मक प्रयास भइरहेको र एमालेले साझा संकल्पको प्रस्ताव ल्याए पनि त्यसमा कांग्रेस सहमत हुन नसक्दा अहिलेसम्म निकास नभेटिएको बताए । पूर्वमन्त्रीसमेत रहेका महराले कांग्रेस सकारात्मक बन्न नसक्दा अन्योल बढिरहेको आरोपसमेत लगाए । माओवादी नेता-कार्यकर्ता घरजग्गा खरिदबिक्री र मोजमस्तीमा लागेको पाइएपछि पार्टीले छानबिन कमिटी गठन गरेको स्पष्ट गर्दै नेता महराले भने, 'छिट्टै हुबहु प्रतिवेदन सार्वजनिक हुन्छ ।' जिल्लामा घरजग्गा खरिदबिक्रीमा आफ्नो पनि लगानी भएको भनाइप्रति महराले आपत्ति गरे । 'मलाई बदनाम गर्न सुनियोजित षड्यन्त्र भएको छ,' उनले अगाडि भने, 'म सबै कुरा छाडेर पार्टी राजनीतिमा लागेको हुँ, मेरो रोल्पामा एउटै घर पनि सहकारीलाई दिएको छु ।'

No comments: