News

Sep 16, 2009

एमालेले १५ स्वायत्त प्रदेशको प्रारम्भिक प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्ताको प्रमुख घटक नेकपा (एमाले) ले राज्य पुनर्संरचनाको खाकासहित १५ वटा स्वायत्त प्रदेशको प्रारम्भिक प्रस्ताव गरेको छ। पार्टीनेता रामचन्द्र झाको संयोजकत्वमा गठित राज्य पुनर्संरचना समितिले संविधानसभामा पेस गर्ने गरी १३ वटा प्रदेशको प्रस्ताव गरेको तर स्थायी कमिटीले दुईवटा थप गरी अर्को बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।पार्टीको मंगलबार बसेको स्थायी कमिटीको बैठकमा संयोजक झाले प्रस्तुत गर्नुभएको १३ वटा प्रदेशमा लुम्बिनी प्रदेश र खप्तड प्रदेश थप गरी मिलाउने निर्णयभएको छ। समितिले अर्को बैठकमा १५ स्वायत्त प्रदेशसहितको अन्तिम प्रस्ताव पेस गर्ने भएको छ। स्थायी कमिटी, पोलिटब्यूरो र आवश्यक परे केन्द्रीय कमिटीमा छलफल गरी टुंगो लगाउने कुरामा नेताहरूको एक मत रहेको छ।लिम्बूवान्, किराँत, थरुहट, मिथिला, भोजपुरा, लुम्बिनी, मगरात, गण्डक, खप्तड, विराट प्रदेशसहित राज्यको पुनर्संरचना गर्ने प्रस्ताव एमालेको छ। संयोजक रामचन्द्र झाले यो प्रारम्भिक हो यसलाई एक/दुई दिनमै समितिले आफ्नोतर्फाट नक्सासहित टुंगो लागाउने जानकारी दिनुभएको छ।संविधानसभा राज्य पुनर्संरचना समितिमा पार्टीको धारणा प्रस्तुत गर्न ढिलाइ भइसकेको छ र समितिले पटक-पटक ताकेतासमेत गरिसकेको कुरालाई ध्यानमा राखी एमालेले चाँडो तर पार्टी व्यापक छलफल गरी र्सवसहमतिका साथ पेस गर्ने तयारी गरेको जानकारी झाले नेपाल समाचारपत्रलाई गराउनुभएको छ।यातायात, तराई, पहाड, अन्य विकास, स्थानीय स्रोत सबै कुरालाई ध्यानमा राखी वैज्ञानिक ढंगले राज्य पुनर्संरचना गर्ने गरी प्रदेशको प्रस्ताव संविधानसभामा राख्ने तयारी एमालेले गरेको संयोजक झाले बताउनुभयो। पार्टीअध्यक्ष झलनाथ खनाल वरिष्ठ नेता एवम् प्रधानमन्त्री माधवकुमार नेपाल, वामदेव गौतम, विष्णु पौडेल, शंकर पोखरेल, भरतमोहन अधिकारी र अमृत बोहराको उपस्थिति रहेको बैठकमा स्थायी कमिटी सदस्य केपी ओली विदेश भ्रमणमा रहनुभएको र उपाध्यक्ष एवम् रक्षामन्त्री विद्या भण्डारी अस्वस्थताका कारण अनुपस्थित हुनुहुन्थ्यो। उपाध्यक्ष अशोक राई पार्टी कामका लागि महेन्द्रनगरमा हुनुहुन्छ। ओली पक्षका केहीले केपी ओली विदेश भ्रमणमा लागेपछि स्थायी कमिटीको बैठक बोलाइएको भनी अघिल्लो दिन नै टिप्पणी गरेका थिए। तर पार्टीले त्यस्तो कुरा सोच्न नसक्ने भन्दै जिम्मेवार पार्टी कार्यकर्ताबाट आवश्यक परेको बेला बैठक बस्दा त्यस्तो टिप्पणी गर्छ जस्तो नलाग्ने नेपाल समाचारपत्रको जिज्ञासामा अध्यक्षको सचिवालयले स्पष्ट पारेको छ।बैठकमा राजनीतिक जटिलता, संविधान निर्माण प्रक्रियामा देखापरेको असहजता, संसद्को अवरोधजस्तो विषयमा सामान्य छलफल भएको भए पनि मूल एजेन्डा राज्यको पुनर्संरचनासम्बन्धी भएको बताइएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दललगायत संविधानसभाका अन्य दलसँग तत्काल वार्ता प्रारम्भ गर्ने जानकारी प्रधानमन्त्री नेपालले गराउनुभएको थियो। संविधानसभाको राज्य पुनर्संरचना समितिमा ठूला पार्टीमध्ये एकीकृत माओवादीले राज्यपुनर्संरचनाको खाका प्रस्तुत गरिसकेको छ भने नेकपा (एमाले), नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरमले बुझाउन बाँकी छ। नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले आफ्नो पार्टीमा छलफल बाँकी रहेकाले दशैंअगाडिको समितिमा प्रतिवेदन पेस गर्ने सम्भावना नभएको बताउनुभयो। फोरमले भने भोलि आफ्नो पार्टीको राज्यपुनर्संरचनासम्बन्धी खाका समितिमा पेस गर्ने जानकारी नेता जेपी गुप्ताले गराउनुभएको छ।

No comments: