News

Sep 15, 2009

माओवादीद्वारा प्रधानमन्त्रीको कार्यक्रम विथोल्ने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चलेको वाकयुद्ध चर्किएको बेला सोमवार विराटनगरको शहिद मैदानमा प्रहरी र माओवादीबीच झडप भएको छ।
प्रधानमन्त्री नेपालको पूर्वनिर्धारित कार्यक्रम विथोल्न त्यहाँ पुगेका माओवादी कार्यकर्ता र प्रधानमन्त्रीको सुरक्षाको निम्ति खटिएका प्रहरीबीच निकै बेर झडप भएपछि कैयौं मानिसहरु घाइते भएका छन्।
माओवादी कार्यकर्ताको अवरोध छल्दै प्रधानमन्त्री नेपाल सो कार्यक्रममा सहभागी भएका थिए। गएको सातादेखि माओवादीले प्रधानमन्त्री र मन्त्रीहरुलाई बहिष्कार गर्दै उनीहरु सहभागी भएका कार्यक्रममा अवरोध पुर्‍याउँदै आएका छन्। शहिद मैदानमा सोमबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री नेपाललाई प्रवेश गर्न नदिने भन्दै मूल गेटमै माओवादीका कार्यकर्ताले नाराबाजी र होहल्ला गरेका थिए। उनीहरुले कालोझण्डा देखाउने र प्रधानमन्त्रीलाई भित्र प्रवेश गर्न रोक लगाउने तयारी गरिरहेका बेला प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको थियो। त्यसपछि पूर्व निर्धारित रुट परिवर्तन गर्दै निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिलो गरी कडा सुरक्षा घेराबीच प्रधानमन्त्री नेपाल कार्यक्रम स्थल पुगेका थिए। तर त्यहाँ उनले त्यसबारे केही बोलेनन्। उनले हरेक क्षेत्रमा जस्तै शिक्षा क्षेत्र पनि अस्तव्यस्त भएको भन्दै चिन्ता व्यक्त गरे। यसअघि हवाईजहाजबाट विराटनगर आउने प्रधानमन्त्री नेपालको कार्यक्रम तय भएपनि माओवादीको अवरोध छल्न हेलिकप्टरबाट उनी विराटनगर आएका थिए। राजनीतिक दलहरुबीचको दुरी बढिरहेको बेला सोमवार भएको झडपले सहमतिका प्रयासहरुमा धक्का लाग्ने ठानिएको छ।

No comments: