News

Sep 30, 2009

दुई तले टेन्ट भत्कँदा २३ जनाको मृत्यु ६३ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान असोज १४- क्रिष्चियन धर्मावलम्बीको एक कार्यक्रमस्थलमा बस्न बनाइएको दुई तले टेन्ट भत्कँदा २३ जनाको मृत्यु भएको छ। घटनामा ६३ जना घाइते भएका छन्। दुईको अवस्था गम्भीर छ। घाइते सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटना धरान १९ चौकिबारीस्थित सियोन प्रार्थना भवनमा मंगलबार राति करिब साढे एघार बजे भएको हो। सो स्थानमा असोज १२ गतेदेखि २० गतेसम्मका लागि पवित्र महासभा कार्यक्रम आयोजना भइरहेको थियो। मंगलबारको कार्यक्रम सकी सुत्ने तरखर भैरहँदा अचानक बाँसको टेन्ट भत्किएको आयोजकले जनाएको छ।मृत्यु हुनेमा अधिकांश महिला छन् भने ४ जना बालबालिका छन्। मृत्यु हुने सबैको सनाखत भैसकेको छ। मृत्यु हुनेमा बेलडागी शिविर झापाकी ८२ वर्षीया दिलमाया ल्वागुन, उदयपुर ठोक्सिला ८ का राजेश राई, झापा महेशपुर ३ का १६ वर्षीया सलमी तामाङ, मोरङ बेलबारी ३ का ३६ वर्षीया राजेन राई, मिगौली रुपन्देहीकी ४० वर्षीया कलावती खौसियार, मोरङ डागीहाट,लक्ष्मीमार्गका ६० वर्षीय किसन चौधरी, सोही स्थानकी ५० वर्षीय पुनम मगर, मोरङ चन्द्रपुरकी ५५ वर्षीया कुमारी तामाङ, यासोक ७ पाँचथरका ४८ वर्षीय पिटर लावती, कास्कीकी २५ वर्षीया कल्पना गंगामी, मोरङ बौकाझोडाका ४५ वर्षीय नन्दकिशोर लिम्बू, झापा भद्रपुरकी ४० वर्षीय सरोजा लिम्बू, झापा सैन्यमोडमा १२ वर्षीया आशा राई र इमाडोल ८ ललितपुरकी ४८ वर्षीया सरिता दियाली छन्। यसैगरी मृत्यु हुनेमा सूर्यनगर ३, झापाकी सिपोला सुब्बा, मोरङ बेलडाँगीकी नन्दीमाया विक, भारत गेरुवाथानकी ३५ वर्षीया निर्मला राई, शान्तिनगर १ झापाका १० वर्षीया अविशेष राई, गाडीहाट ५,मोरङकी पवित्रा लिम्बू, तरहरा २ सुनसरीकी ६० वर्षीया गोमा भुजेल, पाँचकन्या गाविस सुनसरीकी ५५ वर्षीया आर्टिमाया राई, झापा विर्तामोडका २८ वर्षीया मरसी मेचे र काठमाडौंका ७ वर्षीय सुलेमान तामाङ रहेको प्रहरीले जनाएको छ।कार्यक्रम आयोजकले जनाएअनुसार सो घटना महिला बस्नका लागि बनाइएको टेन्टमा भएको हुनाले मृत्यु हुने र घाइतेमा महिलाको संख्या बढी छ। घाइतेमध्ये ५३ जना महिला र १० जना पुरुष रहेको वीपी प्रतिष्ठानस्थित प्रहरी बिटले जनाएको छ। मोरङ लक्ष्मी मार्गका राजु राई र अर्का एक जना गम्भीर छन्।यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार विज्ञप्ति जारी गर्दै घटनाले आफूलाई अत्यन्त मर्माहत तथा स्तब्ध तुल्याएको बताएका छन्। प्रधानमन्त्रीले सो दुर्घटनामा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भई उपचार गराइरहेका दिदीबहिनी तथा दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकका शोक-सन्तप्त आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। घटनाबारे जानकारी लिन गृहमन्त्री भीम रावल घटनास्थल पुगे। उनले घटनास्थल निरीक्षण गरे। सबै घाइतेको उपचार सरकारले बेहोर्ने जानकारी पनि उनले दिएका छन्। उनले घटनाका पीडित र आफन्तसँग भेटेर सहानुभूति प्रकट गरेका थिए। यस्तो बेला सजग रहनुपर्छ भन्दै गृहमन्त्री रावलले पहिले घाइतेको उपचार राम्रोसँग गरौं भन्दै त्यसपछि राहतबारे सरकारले सोच्ने बताए।

No comments: