News

Sep 17, 2009

माओवादीले राष्ट्रिय झण्डा परिवर्तन गर्न प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १- एकीकृत नेकपा माओवादीले चन्द्र-सूर्य अंकित मुलुकको राष्ट्रिय झण्डाले राजतन्त्र र हिन्दू अधिराज्यको झलक दिने दाबी गर्दै त्यसलाई परिवर्तन गर्न प्रस्ताव गरेको छ। माओवादी नेता देवप्रसाद गुरुङले संविधानसभा संवैधानिक समितिद्वारा गठित प्रारम्भिक मस्यौदा उपसमिति बैठकमा यस्तो प्रस्ताव गरेका हुन्।कांग्रेस, एमाले, मजदुर किसान पार्टीले भने नेपालको विशिष्ट पहिचान दिने झन्डा परिवर्तन गर्नै नहुने तर्क गर्दै माओवादी प्रस्तावको तीव्र विरोध गरे भने राष्ट्रिय जनमोर्चाका सभासद् चित्रबहादुर केसी र दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले भने माओवादी प्रस्तावको समर्थन गरेका छन्। चन्द्र-सूर्य अंकित झण्डाले राजतन्त्रको झलक दिने दाबी गर्दै फेर्नु राम्रो हुने गुरुङले बताए। यसबारे नागरिकको जिज्ञासामा गुरूङले भने- 'चन्द्र सूर्य अंकित झण्डाले राजतन्त्रको झलक दिन्छ, बहुजातीय गणतन्त्रात्मक व्यवस्थामा जाँदा पुरानै झण्डा त्यसको प्रतीक बन्न सक्दैन।'चन्द्र-सूर्य अंकित झण्डाले हिन्दू धर्मको मात्र प्रतिनिधित्व गर्ने भएकाले धर्म निरपेक्ष राष्ट्रमा सबै धर्मलाई समेट्ने झण्डा राख्नु राम्रो हुने गुरूङको तर्क छ। उनले भने, 'समावेशी, समानुपातिक लोकतान्त्रिक गणतन्त्रमा झण्डा फेरिनुपर्छ।' राजतन्त्रको अन्त्य र 'हिन्दू अधिराज्य' को सट्टा धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्र भैसकेको अवस्थामा पुरानै झण्डाले यसको प्रतिनिधित्व गर्न नसक्ने गुरुङले बताए।समावेशी संघीय नेपालमा सबैलाई समेट्ने झण्डा बनाउनुपर्ने उनको तर्क छ। युरोपेली संघको जस्तै सबै प्रदेशलाई समेट्ने झण्डा बनाउन प्रस्ताव गर्दै गुरुङले भने, 'जतिवटा प्रदेश छन्, झण्डामा त्यति नै तारा राखौं।' नेपालको झण्डा संसारमै नमिल्दो आकारको त्रिकोणात्मक भएकोले त्यसलाई फेर्नु राम्रो हुने गुरुङको तर्क छ। संसारमै नेपाललाई चिनाउने नेपालको 'विशिष्ट' किसिमको झण्डा रहेको बताउँदै एमाले सभासद् अग्नि खरेलले भने, 'विगतको पाठ्यक्रममा सूर्यवंशी र चन्द्रवंशी राजाको प्रतीक भनेर व्याख्या गरिएकोले त्यसमा मात्र परिवर्तन गरे पुग्छ।' समितिले नै गर्ने व्याख्यात्मक टिप्पणीमा 'चन्द्रवंशी र सूर्यवंशी' भन्नुको साटो चन्द्रसूर्य जस्तै मुलुक र नेपाली जनताको सार्वभौमसत्ता अटल रहोस् भनेर व्याख्या मात्र परिवर्तन गरे पुग्ने खरेलले बताए।नयाँ नेपाल बनाउने नाममा पुराना सबै कुरा फर्नु उचित नहुने तर्क नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापतिको थियो। उनले भने, 'नयाँ नेपालमा सबै फेर्दै जाने नाममा धरहरा, सिंहदरबार, महेन्द्र राजमार्ग, त्रिभुवन विश्वविद्यालय पनि भत्काउनु हुँदैन।' सदियौंदेखि चल्दै आएको राष्ट्रिय झण्डा लहडका भरमा तत्कालै फेर्न नहुने, फेर्नै पर्ने भए विगतमा राष्ट्रियगान फेरेजस्तै छलफल र बहस गराएर मात्र गर्न उनले सुझाव दिए। चन्द्र-सूर्य अंकित नेपालको राष्ट्रिय झण्डाको इतिहास नेपालको सबैभन्दा पुरानो प्रमाणिक इतिहाससँग जोडिन्छ। ईशापूर्व ५२१ देखि ५६२ सम्म राजा बनेका मानदेवले चलाएको मुद्रा 'मानाङ्क' मा पनि त्रिकोणात्मक झण्डा लेखिएको प्राध्यापक दयाराम श्रैष्ठले 'नेपालको राष्ट्रिय झण्डा' शीर्षक पुस्तकमा उल्लेख गरेका छन्। राष्ट्रको इतिहास, संस्कृति र आकांक्षाको प्रतीकका रूपमा राष्ट्रिय झण्डालाई लिइन्छ। त्यसैले सान्दर्भिक र अर्थयुक्त रंग तथा चिन्ह-विन्यासलाई प्रतिकात्मक रूप दिएर राष्ट्रको अखण्ड सार्वभौमिकतालाई निर्विवाद अभिव्यक्त गर्न झण्डा बनाइने प्रा. श्रेष्ठले उल्लेख गरेका छन्।श्रेष्ठका अनुसार, झण्डाको सर्वप्रथम इशापूर्व ११२२ मा चाउ नामका चीनिया सम्राटले प्रयोग गरे पनि पाश्चात्य जगतमा सोह्रौं शताब्दीदेखि मात्र झण्डा प्रयोग हुन थालेको हो। दुई पाताकायुक्त नेपालको झण्डाको इतिहास दुई हजार पाँच सय वर्ष पुरानो रहेको इतिहासकारहरूको भनाइ छ। समितिको बैठकमा एमालेका खरेलले हिन्दू धर्मसँग मात्र नेपाली झण्डालाई नजोड्न आग्रह गरेका थिए। व्याख्या मात्र फेरे पुग्ने खरेलको तर्कबारे माओवादी नेता गुरूङको तर्क थियो, 'व्याख्या फेरे पनि झण्डामा देखिने वस्तु उही हुन्छ, वस्तु व्याख्या भन्दा प्रमावकारी हुन्छ।' अर्का सभासद् सपना मल्ल प्रधानले तर्क गरिन्, 'गणतन्त्रमा सबै फेर्नै पर्ने हो भने देशको नाम पनि नेपाल नराखौं, नाम फेरौं।' गणतन्त्र भन्दैमा सबै फेर्नु नपर्ने उनको तर्क थियो। झण्डाको प्रयोग पहिलेदेखि नै गरिंदै आएको भए पनि 'नेपालको संविधान ०१९' लागू भएपछि मात्र संविधान नेपाली झण्डालाई लिपीबद्ध गरिएको हो। झण्डाको प्रयोग व्यवस्थित बताउन बहुदलपछि ०४९ बैशाख ८ गते 'राष्ट्रिय झण्डा प्रयोग गर्ने र बनाउने नीति' नै जारी गरिएको थियो।

No comments: