News

Sep 27, 2009

चाडबाड सकिएपछि मधेशमा नयाँ आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दशैं, तिहार तथा छठजस्ता चाडबाड सकिएपछि मधेशमा नयाँ आन्दोलन गर्ने उक्त क्षेत्रको एउटा प्रभावशाली पार्टी मधेशी जनाधिकार फोरमले जनाएको छ। प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले चाडपर्वपछि चर्काउने भनेको आन्दोलन टुंग्याउन सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेले छलफललाई तीव्रता दिएको बेला फोरमको यस्तो भनाइ आएको हो। काठमाण्डूमा सत्ताधारी दलहरुबीच माओवादीको आन्दोलन कसरी टुंग्याउने भन्ने विषयमा चरण-चरणमा छलफल चलिरहेको बेला मधेशका मुद्दाहरुप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै फोरमका प्रमुख उपेन्द्र यादवले आन्दोलन गर्ने चेतावनी दिएका छन्। “यो सरकारले मधेश विरोधी काम गरिरहेको छ। प्रधानमन्त्रीसंग मैले पटकपटक कुरा गरेको छु तर सुनुवाई भएको छैन,” यादवले भने।सरकारी पदहरुमा नियुक्ति गरिंदा मधेशीमाथि भेदभाव गरीएको तथा सार्वजनिक क्षेत्र समावेशी बनाउनको निम्ति अघिल्लो सरकारको पालामा प्रस्तावित योजना अलपत्र पारीएको भन्दै पूर्ववर्ती सरकारको परराष्ट्रमन्त्रीसमेत रहेका यादवले अहिलेको सरकारको कडा आलोचना गरेका छन्। आफ्ना मागहरुमा सहमत सबैको साथको आन्दोलनमा स्वागत गर्ने उनले बताए।तर माओवादीको आन्दोलनको एजेन्डा छुट्टै भएकोले तत्काल संगसंगै जाने योजना नभएको उनको भनाइ थियो।“माओवादीको आफ्नो एजेण्डा छ, मधेशको आफ्नै समस्या छ। कुनै विन्दुमा गएर मिलिन्छ अथवा मिलिंदैन भनेर अहिले केही भन्न सकिंदैन,” उनले भने।

No comments: