News

Sep 23, 2009

तेस्रो जनआन्दोलन विद्रोहमा रूपान्तरण हुन सक्ने 'प्रचण्ड'को चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, असोज ६ गते । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनविद्रोहको चेतावनी दिनुभएको छ । "राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक कदमको कुनै न कुनै रूपले सम्बोधन नगरिए तिहारपछि सुरु हुने तेस्रो जनआन्दोलन विद्रोहमा रूपान्तरण हुनसक्छ ।" क्रान्तिकारी पत्रकार सङ्घ तमुवान राज्यसमितिद्वारा मङ्गलबार पोखरामा आयोजित पत्रकार अन्तर्त्रिmयामा प्रचण्डले भन्नुभयो, संयुक्त राष्ट्रसङ्घको बडापत्रले पनि जनतालाई विद्रोहको अधिकार सुनिश्चित गरेको छ । "जनआन्दोलन रक्तपातपूर्ण हुँदैन, शान्तिपूर्ण नै हुन्छ", प्रचण्डले भन्नुभयो । उहाँले अब हुने आन्दोलन आमसभामा मात्र सीमित नहुने र सशक्त हुने स्पष्ट पार्नुभयो । "आन्दोलनले तेस्रो जनआन्दोलनको रूप दिन्छ र त्यो जनविद्रोहमा रूपान्तरण हुन सक्दछ"- प्रचण्डले भन्नुभयो । राष्ट्रपतिले चालेको कदम सच्याउन र पार्टीहरूबीचमा रहेको गतिरोधको अन्त्य गर्न छलफल चलेको जानकारी दिँदै उहाँले भन्नुभयो, "माओवादीद्वारा संसद्मा प्रस्तुत सङ्कल्प प्रस्तावलाई सम्बोधन गर्न संविधान संशोधन भएमा सोच्न सकिन्छ तर काङ्ग्रेस सहमति खोज्नेतर्फ अनिश्चित देखियो ।" राष्ट्रपतिको कदमका बारेमा 'र' पनि उच्चारण गर्न सकिँदैन भन्ने काङ्ग्रेस नेताहरूको भनाइले काङ्ग्रेस निकास निकाल्न अनिच्छुक भएको पाइएको प्रचण्डले बताउनुभयो । "तिहारपछि पनि गतिरोध अन्त्य भएन भने आन्दोलनको ठूलो कार्यक्रम ल्याउन माओवादी विवश हुनेछ", प्रचण्डले भन्नुभयो । उहाँले काङ्ग्रेसले अनिच्छा प्रकट गरेपछि निकास निस्कने कुरामा आफू आशावादी रहेको स्पष्ट पार्नुभयो । "असहमतिको सम्भावना कम छ, सहमतिको सम्भावना प्रवल छ", प्रचण्डले भन्नुभयो । उहाँले वर्तमान सरकार संसद्मा अल्पमतमा परिसकेको दाबी गर्नुभयो । "सरकार अल्पमतमा परिसकेको छ, सबै मधेसवादी दलहरूबाट एउटै ठूलै समूह नै सरकारबाट फिर्ता हुने तयारी गर्दैछ", प्रचण्डले भन्नुभयो । अल्पमतमा परेको सरकारका विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याउनबारेमा पनि सोच्दै गरेको उहाँले बताउनुभयो । प्रचण्डले यो सरकार विस्थापित गरेर राष्ट्रिय सरकार गठन हुने पनि विश्वास प्रकट गर्नुभयो । दसैँको बेलामा कार्यकर्ता तथा जनताका बीचमा जाने योजना अनुसार पोखराबाट पाल्पा हुँदै रोल्पा पुगेर राजधानी फर्किने अनौपचारिक कार्यक्रम रहेको प्रचण्डले जानकारी दिनुभयो ।

No comments: