News

Sep 22, 2009

कार्यक्रममा थोरै गीत र थुप्रै अनुभव सुनाए अम्बर गुरुङले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ४ सांगीतिक कार्यक्रम पलेँटीमा यो शुक्रबार संगीतकार अम्बर गुरुङ उपस्थित भए। आधुनिक नेपाली संगीतको थालनीकर्ताका रुपमा चिनिने उनले कार्यक्रममा थोरै गीत र थुप्रै अनुभव सुनाएका थिए। अम्बरका नयाँ पुराना सिर्जनाहरु सुनाउने काम भने पलेँटीका सञ्चालक एवं उनकै शिष्य आभासले गायिका मीनाको साथमा गरेका थिए। 'म अम्बर हुँ तिमी धर्ती' बाट सुरुभएका गुरुङले पछिल्लो अल्बम 'कहिले लहर कहिले तरंग' का गीतसमेत गाएका थिए। 'तिमी भूलमा पर्‍यौ, म पनि झुक्किएँ' गीत सुनाइसके पछि अम्बरलाई श्रोताले यसको पृष्ठभूमिका बारे जिज्ञासा राख्दा उनले यससँग जोडिएको पुराना प्रेम प्रसंगको सम्झना गरे। 'दार्जिलिङमै रहँदा तयारभएको यो गीतमा मेरो अतित जोडिएको छ,' उनले भने, 'गीतले भनेजस्तै त्यो सम्वन्ध तत्कालै नियन्त्रित भएको थियो।'कार्यक्रममा उनले उतिबेला तारादेबीसँग गाएको 'टिप यो जोवन' मीनाको साथमा सुनाएका थिए। लामो समयपछि युगल गायकका रुपमा प्रस्तुत भएका गुरुङको अनुहारमा त्यो बेला हाँसोयुक्त रौनक छाएको थियो।'उमेरले सर्जकलाई लाचार बनाउँदो रहेछ,' आभाषले गाएको ...जब हावाले तिम्रो केश लहरायो' गीतका सन्दर्भमा तेश्रो व्यक्तिलाई नायक बनाएको प्रसंग कोट्याउँदै उनले भने, 'आफूले अनुभूत गरेको कुरालाई प्रकट गर्न पनि यो गीतमा अरुको सहारा लिनु परेको थियो।'जवान हुँदा आफूले गीतमा ७५ प्रतिशत भावना र २५ प्रतिशत विचार रहनु पर्छ भन्ठान्ने गरेको र परिपक्व भएपछि त्यो मात्रा ठीक उल्टो लागेको उनले सुनाए। ...तर बास्तवमा बराबर मात्रामा भावना र विचार चाहिन्छ,' उनले भने, 'त्यस्तो मिश्रणले मात्र मास्टरपीस दिन सक्छ।'कार्यक्रमको अन्त्यमा आफ्नो पहिलो र सर्वाधिक लोकप्रिय गीत 'नौ लाख तारा उदाए' सुनाएर विदा हुन खोजेका अम्बर श्रोताको अनुरोधमा फेरि थामिए र अन्तिम गीत सुनाए -'यो जीन्दगीको के कुरा...।'अम्बरको यसै प्रस्तुतीलाई लिएर आयोजक नेपालयले पहिलो पटक राजधानी बाहिर पोखरामा सोमबार पलेँटीलाई विस्तार गर्दैछ। यो सफल भएमा पलेँटीलाई काठमाडौं बाहिर पनि नियमितता दिने सञ्चालक आभाषले बताए।

No comments: