News

Sep 29, 2009

एकीकृत नेकपा (माओवादी) लचकता अपनाउन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १३ वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी अवरुद्ध व्यवस्थापिका संसद सुचारु गर्न एकीकृत नेकपा (माओवादी) लचकता अपनाउन तयार भएको छ।विजया दशमीको भोलिपल्ट राजधानीमा उपलब्‍ध स्थायी समितिका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको स्रोतले बताएको छ।नयाँ बजारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकमा आइतबार कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भएको वार्ता र कजाखस्तानबाट मंगलबार एमाले अध्यक्ष झलनाथ खनाल फर्किसकेपछि हुने तीन शीर्ष दलका शीर्ष नेताबीचको वार्तामा पार्टीले राख्नुपर्ने अडान र संभावित लचकताका बारेमा छलफल भएको थियो।स्थायी समितिको अर्को बैठक शुक्रबार बस्ने तय भएको छ।बैठकपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै उपाध्यक्ष बाबुराम भट्टराईले गतिरोध अन्त्यका लागि विभिन्न चरणमा वार्ता भइरहेको छ र यो क्रम निरन्तर जारी रहने बताए। कांग्रेस सभापति कोइरालासित आइतबार भएको वार्तामा कस्तो सहमति भएको थियो भनी सोधिएको प्रश्नको जवाफमा भट्टराईले भने- सहमति खोज्ने सहमति भएको हो। अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शुक्रबार बस्ने स्थायी समितिको बैठकको तयारीका लागि आजको बैठक बसेको जानकारी दिँदै काँग्रेस र एमालेसित भोलिदेखि गतिरोध अन्त्यका लागि वार्ता तीव्र हुने बताए।

No comments: