News

Sep 19, 2009

राष्ट्रपतिको कार्यक्रमको समाचार संकलन गर्न प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवको औपचारिक कार्यक्रमको समाचार संकलन गर्न पत्रकारलाई प्रतिबन्ध लगाइएको छ।आयोजकको निम्तोमा गएका पत्रकारहरूले राष्ट्रपति डा. रामवरण यादवले बोल्नुभएको समाचार संकलन गर्न थालेपछि सुरक्षाकर्मीले कार्यक्रमस्थलमा बस्न दिएनन्। नेपाल मार्च फर एजुकेसनले शुक्रबार राष्ट्रपति भवनमा आयोजना गरेको कार्यक्रममा पुगेका पत्रकारलाई राष्ट्रपति डा. रामवरण यादवको भनाइ टिपोट गर्न थालेपछि राष्ट्रपतिले बोल्नुभएको विषयको समाचार संकलन गर्नु हुँदैन भनी बाहिर निकालिएको थियो।‘उहाँले अनौपचारिक रूपमा बोल्न लाग्नुभएको छ, उहाँको भाषण सुनेर मिडियाले हल्ला फिजाउँछन्’ भन्दै सुरक्षाकर्मीले पत्रकारलाई निकालेका थिए। सो कार्यक्रममा अन्य वक्ताले बोलेका विषयमा भने रिपोर्टिङ गर्न दिइएको थियो।राष्ट्रपति डा. यादवले बोल्दै गर्दा बाहिर निकालिएका टेलिभिजन, एफएम र छापामाध्यमका पत्रकारलाई राष्ट्रपतिको आवाजसमेत सुन्न नसकिने गरी तल पुर्याइएको थियो। हामी बाहिरपट्टि पनि बस्न नहुने भनी सुरक्षाकर्मीसँग पत्रकारले सोध्दा मिडियाले थुप्रै हल्ला फैलाउँछन् भन्दै बलजफ्ती कार्यक्रमस्थलबाट निकालिएको थियो।यस विषयमा राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालसँग जिज्ञासा राख्दा उहाँले त्यस घटनाबाट आफू अचम्मित भएको बताउनुभयो। ‘यस्तो त कहिल्यै हुँदैनथ्यो’, उहाँले भन्नुभयो- ‘यस विषयमा जानकारी लिउँला।’ दाहालले राजनीतिक र विदेशी कूटनीतिज्ञसँगको भेटघाटमा मात्र यस्तो गर्ने गरिएको जानकारी दिँदै सुरक्षाकर्मीबाट गल्ती भएको हुन सक्ने बताउनुभयो। पत्रकारलाई समाचार संकलन गर्न नदिने नीति नै नभएको स्पष्ट पार्दै यस विषयमा आज शनिबार जानकारी लिइने उहाँले बताउनुभयो।यस विषयमा नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षत्रीले सुरक्षाकर्मीले राष्ट्रपति कार्यालयको नियमअनुसार पत्रकारलाई शिष्टतापूर्वक कार्यक्रमबाट बाहिरिन आग्रह गरेको बताउनुभयो।आयोजक संस्था मार्च फर एजुकेसनले राष्ट्रपति कार्यालयको मूलगेटमा पेस गरेको सूचीका आधारमा पत्रकारहरूलाई कार्यक्रमस्थल भित्र लगिएको थियो। तर आयोजकले पत्रकारलाई बाहिर निकाल्दा कुनै प्रतिक्रिया जनाएनन्।शिक्षालाई मौलिक अधिकारका रूपमा प्रतिस्थापन गर्नुपर्ने माग गर्दै मार्च फर एजुकेसनले विश्व साक्षरता दिवसको अवसरमा शिक्षाका लागि नेपाल यात्रा आरम्भ गरेको थियो। भदौ २३ गते महेन्द्रनगरबाट आयोजना गरिएको दशदिने यात्रा बिहीबार टुंगिएको थियो।यात्रामा भएका विषयवस्तुलाई ज्ञापनपत्रका रूपमा मार्च फर एजुकेसनले शुक्रबार राष्ट्रपति डा. यादवलाई बुझाएको थियो। १ सय ५० सहयात्री समूहका १ लाख विद्यार्थी, नागरिक समाज र शिक्षण संस्थाले १ हजार ५ सय किमि दूरी पार गरी सुझाव र समस्या संकलन गरेका थिए।

No comments: