News

Sep 16, 2009

अहिले गाउँका विद्यार्थीहरू ल्यापटपमा पढ्छन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उहिले गाउँतिरका पाटीका भित्तामा बालबालिका खरीले अक्षर कोरिरहेका हुन्थे । तर, अहिले गाउँका विद्यार्थीहरू ल्यापटपमा पढ्छन् । 'छोराछोरीले यस्तोमा पढ्न पाउलान् भन्ने कल्पना पनि गरेको थिइनँ,' ३५ वर्षीया सरुदेवी भुलले भनिन्, 'मेरा तीनैजना छोराछोरी ल्यापटपमा पढ्छन् ।' नजिकै रहेको विद्यालयका विद्यार्थी झोलाभरि किताब बोकेर स्कुल जाँदा जनज्योति प्राविका विद्यार्थी भने हातमा ल्यापटप बोकेर विद्यालय हिँडेको देखिन्छ । समान विद्यार्थीबीच कति ठूलो भेदभाव ? शिक्षाका लागि कम्प्युटर वर्तमान युगमा गुणस्तरीय माध्यम भए पनि पहुचमा समानान्तर हुनुपर्ने स्थानीय अभिवाभक गोरे सार्कीले सुनाए । कुनै विद्यालयका विद्यार्थी स्कुलको एउटै किताबबाट उच्च शिक्षाको सपना देखिरहेका छन् भने कोही कम्प्युटरमा सपना बुन्दै छन् ।पहिले धुलोमाटोमा खेल्ने विद्यार्थी अहिले मज्जाले आफ्ना ल्यापटप अगाडि राखेर विभिन्न खेल खेलिरहेका हुन्छन् । धुलोमाटोले लुगा र अनुहारै नचिनिने भएर विद्यालय आउने विद्यार्थी अहिले सफा-सुग्घर भएर आउँछन् । यसो हेर्दा राम्रो निजी विद्यालयका विद्यार्थीभन्दा पनि राम्रा देखिन्छन् ती बालबालिकाहरू । सुविधा र अवसर पाए ग्रामीण भेगका बालबालिका पनि सहरियाभन्दा कम छैनन् भन्ने एउटा दृष्टान्त पनि हो यो गाउँको स्कुल ।
पुस्तक समाल्न नसक्ने विद्यार्थीका हातमा ल्यापटप दिनु 'बाँदरलाई नरिवल दिनुझै हो' भन्ने शिक्षित बुद्धिजीविहरू अहिले अचम्मित भएका छन् । ती विद्यार्थीले पढ्नमा देखाएको रुचि र उनीहरूले गरेको मिहिनेतबाट भन्न सकिन्छ, साँच्चै अवसर मिल्यो भने सबैले गर्न सक्छन् । कम्प्युटरसमेत नदेखेका शिक्षकले ल्यापटपबाट पढाइ सञ्चालन गर्नुपर्दा केही समय उनीहरू अलमलमा परेका थिए । तर, ई-पाटी नेपालले मात्रै १५ दिनको तालिम दिएपछि अहिले ती शिक्षकशिक्षिका मज्जाले पढाइरहेका देखिन्छन् ।
शिक्षामा र सुधार ल्याउने र असमानता न्यूनीकरण गर्ने उद्देश्य लिएर विश्व खाद्य कार्यक्रमले साझा शिक्षा ई-पाटी तथा शिक्षा विभागसँगको सहकार्यमा डडेल्धुरामा परीक्षण (पाइलट) परियोजना सञ्चालन गरेको हो । नेपाल सरकारको सन् २०१५ सम्ममा सबैका लागि शिक्षाको प्रतिबद्धता पूरा गर्नसमेत यसले सहयोग पुर्‍याउने स्थानीय शिक्षिका निर्मला भट्टले बताइन् । डडेल्धुरा जिल्लामा विश्व खाद्य कार्यक्रमद्वारा सञ्चालित खाजा कार्यक्रम लागू भएका तथा विद्युत् सेवा भएको जनज्योति प्राविका र जनता प्रावि कोरालका एक सय ८० छात्रछात्रा र चार शिक्षकलाई ल्यापटप वितरण गरिएको थियो । नेपालस्थित संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमले साझा शिक्षा ई-पाटी र नेपाल सरकार शिक्षा विभागको संयुक्त आयोजनामा कक्षा दुई र तीनका विद्यार्थीलाई ल्यापटपबाट शिक्षा प्रदान गर्ने उद्देश्यले यस शैक्षिक सत्रको सुरु (वैशाख) मा डडेल्धुराका तीन प्राविस्तरका विद्यालयमा ल्यापटप वितरण गरिएको हो । ल्यापटपबाट विद्यार्थीले पढाइ सुरु गरेको सुदूरपश्चिममै यो पहिलोपटक हो ।

No comments: