News

Sep 13, 2009

सुरक्षाकर्मीले तस्करी सामान ओसार्न सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्जको भन्सार कार्यालय परिसरमै तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीले तस्करी सामान ओसार्न सहयोग पुर्‍याउँदै आएका छन् । सुरक्षाकर्मीले तस्करी सामान बोक्ने रिक्सा र साइकललाई सुरक्षित स्थानमा जान सघाउ पुर्‍याउने गरेका छन् ।तस्करले भारतका विभिन्न सहरबाट ट्रकमा लोड भएको सामान सीमावर्ती भारतीय बजार रुपैडिहामा झार्ने गर्छन् । त्यहाँबाट रिक्सा तथा साइकलमा विनाभन्सार नेपालसम्म पुर्‍याउने गरिएको छ । भन्सार कर्मचारीका अनुसार, मोटरपार्टस्, मोबाइललगायत लाखौं रुपैयाँको सामान तस्करी हुने गरेको हो ।तस्करले मजदुर लगाएर दसगजा नजिकैको जमुनाह सडकदेखि पूर्वतर्फ प्रत्येक दिन सामान लैजाने र राति ९ बजेपछि मुख्य भन्सार कार्यालय नजिकै बाटो भएर नेपालगन्ज भित्र्याउने गरेका छन् । सामान तस्करीमा सशस्त्र र जनपद प्रहरीको सहयोगकै कारण विनाअवरोध दैनिक रुपमा भित्रिंदै आएको व्यापारीको भनाइ छ ।मोटरपार्टस्, मोबाइललगायत सामान तस्करी हुन थालेपछि नेपालगन्ज भन्सार कार्यालयमा भन्सार मूल्यांकन बन्द भएको छ । कार्यालयको तथ्यांकअनुसार चालू वर्षमा मोटरपार्टस्को भन्सार निकै न्यून छ । मोबाइलको हालसम्म भन्सारमा मूल्यांकन गरिएको देखिंदैन ।भन्सार कर्मचारीले रोक्ने प्रयास गर्दा तस्करले उल्टै धम्काउने गरेको गुनासो गर्छन् । 'के गर्न सक्छस् गर । हामीले यहाँका प्रहरी प्रमुखदेखि डिआइजीसम्म लाइन मिलाएका छौ,' डिउटीमा खटिएका भन्सार कर्मचारी भन्छन् ।नेपालगन्ज भन्सार कार्यालय प्रमुख विनोदबहादुर कुँवरले घटना स्वीकार गर्दै भन्सार कर्मचारीलाई धम्काउने कार्य भइरहेको बताए । उनले त्यसबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी गराएको बताए । उनले भने, 'तस्करी रोक्छ भन्नुहुन्छ, तर अहिलेसम्म केही गरेको देखिएन ।रोक्न खोजे ज्यान मार्ने धम्की दिन्छन् । । भन्सार कर्मचारीले भने प्रहरीकै मिलेमतोमा तस्करी भएपछि रोक्न नसकिएको बताएका छन् । तस्करले सीमाका प्रहरी जवानदेखि क्षेत्रीय प्रहरी कार्यालयका प्रमुखसम्मलाई 'लाइन' दिने भएकाले सहजै दैनिक लाखौं रुपैयाँको तस्करी भइरहेको कर्मचारीको दाबी छ । अवैध चोरी निकासीका लागि खटिने भन्सार कर्मचारी ज्यान मार्ने धम्कीपछि निराश छन् । भन्सार प्रमुख कुँवर भन्छन् ,'प्रहरी प्रमुखसँग बसेर त्यसबारे पुनः छलफल गर्ने प्रयास भइरहेको छ ।'रुपैडिहामा प्रहरी चौकीसँगै भन्सार कार्यालय, राजस्व गस्ती, भन्सार कर्मचारीलगायत कार्यरत रहे पनि उनीहरूकै अगाडिबाट खुलेआम दैनिक लाखौंको तस्करी हुने गरेको छ ।

No comments: