News

Sep 11, 2009

बस दुर्घटनामा २१ जनाको मृत्यु १५ जना बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ भदौ दुईवटा बसका चालकबीच उछिनाउछिनको प्रतिस्पर्धा चल्दा बिहीबार सिन्धुपाल्चोकमा भयानक दुर्घटना भएको छ । दुर्घटनामा २१ जनाको ज्यान गएको छ भने करिब १५ जना सुनकोसी नदीमा बेपत्ता छन् । सिन्धुपाल्चोकको जलवीरेबाट काठमाडौंतर्फ गुडेको बस अनियन्त्रित भई राजमार्गबाट खसेर सुनकोसी नदीमा डुब्दा यति ठूलो दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित माओवादी नेता, गाविससचिव, विद्यार्थी, किसान र दम्पती दुर्घटनामा परेका छन् । बसमा करिब ४० जना यात्रु रहेको अनुमान छ । कन्डक्टरसहित चारजनाको मात्र जीवितै उद्धार भएको छ भने २१ जनाको शव फेला परेको छ । बाँकी करिब १५ जना जीवित भेटिने सम्भावना कम हुदै गएको छ । बेपत्ता हुनेमा माओवादी ताम्सालिङ राज्य समितिका सदस्य लीला सापकोटा पनि छन् । अरनिको यातायातको ना२ख १६२८ नम्बरको यात्रुबस बिहान १०:५ बजे कदमबास- ५ सुकुटे घुम्नेडाँडाबाट २५ मिटर तल खसेर सुनकोसीमा डुबेको हो । मृतक १९ जनाको सनाखत भएको छ । राति अबेरसम्म बाँकी दुईको सनाखत हुन सकेको छैन । पाँच शव घटनास्थलनजिक, एउटा चेहेरे, ६ वटा दोलालघाटनजिक र बाँकी नौ शव बसभित्रै कोचिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमोदकुमार खरेलले बताए । दुर्घटनामा कुभिन्डे गाविसका मात्रै पाँचजनाले ज्यान गुमाएका छन् । बसमा यात्रारत फुल्पिङकोट-६ की मीना तामाङ, स्याउले-७ का राजु श्रेष्ठ, बसका सहचालक र एक वृद्ध बच्न सफल भएको प्रहरीले जनाएको छ । श्रेष्ठ सिर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्केका छन् भने तामाङको धुलिखेल अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पताल पुर्‍याइएको छ । सहचालक बस नदीमा नपुग्दै सकुशल झरेका थिए । उनी सम्पर्कबाहिर छन् । वृद्ध भने आफैले ल्याएको खसीको खुट्टा समातेर तैरिन सफल भएको प्रत्यक्षदर्शीले बताए । दसैंका लागि आफैंले ल्याएको खसी लिएर उनी घरतिर लागेका छन् ।नदीमा उत्तानो परेको गाडीको अधिकांश भाग डुबेको थियो । टायर र इन्जिनको भाग मात्र देख्न सकिन्थ्यो । घटनालगत्तै उद्धार प्रयास थालिए पनि नदीको बहाव तीव्र रहेकाले बसभित्र रहेकालाई जीवितै उद्धार गर्न नसकिएको उद्धारकर्मीहरूको भनाइ छ । प्रमुख जिल्ला अधिकारी भानुभक्त पोखरेलको नेतृत्वमा जनपद प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए । स्काभेटरको सहायताले गाडी दिउँसो तीन बजे मात्र पानीबाट निकाल्न सकिएको थियो । माओवादी नेता अग्नि सापकोटा, सभासद् राजकुमार श्रेष्ठ, देवी खड्का, नेविसंघ महामन्त्री बलदेव तिमल्सिना, बागमती अञ्चल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल पनि घटनास्थल पुगेका थिए । पछिल्लो गाडीलाई 'ओभरटेक' गर्न नदिन तीव्र गतिमा बस चलाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । बाह्रबीसेबाट राजधानी आउँदै गरेको बसले ओभरटेक गर्न खोजेपछि दुर्घटनामा परेको बस तीव्र गतिमा कुदेको प्रत्यक्षदर्शीले बताए । उनीहरूका अनुसार यात्रु राख्ने विषयमा दुवै गाडीका चालकबीच विवादसमेत भएको थियो । विवादका क्रममा दुर्घटनामा परेको बसको 'लुकिङग्लास' अर्का चालकले फोरिदिएका थिए । विवादपछि तीव्र गतिमा कुदेको बस काठमाडौंबाट बाह्रबीसेतर्फ जाँदै गरेको एउटा कारलाई साइड दिने क्रममा अनियन्त्रित भएर नदीमा खसेको प्रत्यक्षदर्शी बताउँछन् । दुर्घटनाको जानकारीपछि आफन्त खोज्दै सर्वसाधारण घटनास्थल आएका थिए । मृतकका आफन्तको रुवाबासीले घटनास्थल नै शोकमा डुबेको थियो । केही शव घटनास्थलबाट करिब चार/पाँच किलोमिटर तल दोलालघाटमा भेटिएकाले अझै केही यात्रु सुनकोसी नदीमा हराइरहेका सुरक्षाकर्मीको अनुमान छ । यो समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले खोजीकार्य जारी राखेका छन् ।

No comments: